• कृष्णउदाशी

     

    सँधै दुःखको पात बजाइरहने गाउँका लाठेहरू
    यसपाली त सबेरै पुगेहोलान्
    पात्तलको बाटो हुँदै
    सिक्किमे रम भारी हाल्न
    रिङ्गिप, कि त बिजनबारी ।
    कसरी ओभाए होलान्
    मातृत्वले लछप्पै भिजेका मन
    बामे सर्नै नथालेका नानीहरूलाई
    एकपाटो स्तन चुसाई नसक्दै
    लैनो गाईलाई कलिलो बन्सो खोज्न
    खङ्खोला पुगेका सुत्केरी आमाहरुको ।
    कस्ले पोख्यो होला इँवा खोलो भन्दा लामो बाँसुरीको धुन ?
    पारि ओडारे भीरको थाप्लोमै बसेर
    जीवनका सप्पै दुःखहरू बगाउने गरी
    कसरी सम्हाल्दै होलान गाउँका आमाहरू
    स्यालघुरीको मोच लागेर
    छेरौटीले सखापै भएको नानीहरुको गाउँ ।

    पानी बगेजस्तै गरी
    मान्छेको जिन्दगी बगिरहन्छ
    देख्नै पाइएन
    हाम्रा बाजे, बूढाबाजेहरुको अनुहार
    थाहा छैन
    कुन वसन्त भएर फुल्यो होला बैँशको गुलाब ?
    कुन शरदमा मुस्कुरायो होला
    जीवनको सयपत्री ?

    उहिले उहिलेदेखि आजसम्ममा
    कति बद्लिए होलान्
    ब्याङ्ग्रेखोल्साका भलायाका रुखहरु
    तर छोडेका छैनन् तुलिगाँडाहरुले
    खोल्सै तर्सिने गरी कराउन
    जसरी छोड्नै सक्दैनन्
    गाउँका आमाहरूलाई
    दुःखका भारीहरुले ।

    जीवनको मोह सुसेल्दै सुसेल्दै
    भालुबाँसको पखेतामा सोइसोइला खेल्ने
    ताँमे ढुकुरको जोडीसँग
    केको दुस्मनी हो ब्याधाको
    जस्तो कि–
    बाह्रैमास काम गर्नेसँग
    दुस्मनी छ गरिबीको ।

    आज बुझदैछु–
    दुःख बराबर गाउँ
    गाउँ बरबार आमा
    र आमा बराबर दुःख भएपछि
    दुःख सम्झे पनि आमाकै याद आउँदोरहेछ,
    गाउँ सम्झे पनि आमाकै याद आउँदो रहेछ,
    र आमा सम्झे पनि आमाकै याद आउँदोरहेछ ।

    नोट:
    पात्तलः– साह्रै ठूलो र निर्जन जङ्गल ।
    रिङ्गिप:– पाँचथर जिल्लाको च्याङ्थापुदेखि पूर्व दक्षिणतर्फ लाठेहरू लगभग एकदिन हिँड्दा पुगिने भारतको बजार ।
    विजनबारीः– रिङ्गिप भन्दा अलि टाढा रहेको भारतको निक्कै पुरानो र चर्चित बजार ।
    बन्सो:– गाईबस्तुले साह्रै मन पराउने र ओसिलो ठाउँमा पाइने एकप्रकारको घाँस ।
    खंखोला:– पाँचथरको फलैचा गाविसमा पर्ने ठाडो खहरे खोला ।
    ब्याङ्ग्रे:– पाँचथरको फलैचा गाविसमा रहेको एउटा खोल्साको नाम ।
    इवाँखोलो:– सिक्किमको सिमानामा पर्ने ताप्लेजुङ र पाँचथरको सिमाना भूमागमा रहेको तिम्बूपोखरीको निकास । यो खोलो ताप्लेजुङ र पाँचथरको वारपार सिमाना भएर बग्छ ।
    ओडारे:– ताप्लेजुङ जिल्लाको सादेबा गाविसको एउटा ठूलो भीरको नाम ।
    स्यालघुरी:– पाँचथरको फलैचा गाविसमा रहेको एउटा जङ्गलको नाम
    मोच:– गाउँतिर साना नानीहरूलाई सेतो पखाला लाग्यो भने मोच (जागित्र) लाग्यो भनेर झारफुक गरिन्छ ।
    तुलिगाँडाः– टाउको ठूलो भएको, झ्याम्मपरेको रुखमा र बथानमा बस्ने अनौठो प्रजातिको चरो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…