• बैशाख ११, २०७७

    काठमाडौं :

    सोमबार जारी दुई अध्यादेशका कारण नेकपाभित्र किचलो बढिरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष नेताहरुको बैठक भैंसेपाटीमा बसेको छ। बिहीबार साँझ दाहालसहित तेस्रो वरियताका झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठक भएको हो। स्रोतका अनुसार उक्त बैठकले प्रधानमन्त्रीद्वारा जारी दुई अध्यादेश फिर्ता हुनुपर्ने मत बनाएको छ।

     

    'दुवै विधेयकले राजनीतिक अस्थिरताको सम्भावना बढाएको छ', स्रोतले भन्यो, 'अहिलेलाई यी विधेयक फिर्ता हुनुपर्ने हाम्रो साझा मत रहेको छ।' नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा ओलीबाहेकका नेताहरुको बैठक बसेको हो। राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेश र संवैधानिक निकायमा नियुक्तिबारेको अर्को अध्यादेश ओलीले पार्टीमा सल्लाह नै नगरी जारी गरेपछि नेकपाको विवाद भुसको आगोझैँ सल्किएको अवस्थामा बैठक भएको हो।

     

    प्रधानमन्त्री ओलीले दुवै विधेयक फिर्ता गर्ने संकेत बिहीबारै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई गरिसकेका छन्। नेकपाभित्रैबाट चर्को आलोचना भएपछि ओलीले दुवै विधेयक फिर्ता गरेर सहमतिमा आउन तयार रहेको जनाउ दिएका हुन्। यसअघि कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यबीच गत पुसमा पनि वामदेव निवासमै गोप्य भेटघाटलाई भएको थियो। त्यसले नेकपामा लामो समय हलचल ल्याएको थियो। त्यस भेलाले प्रधानमन्त्री ओलीलाई करिब एक्ल्याएको थियो।

     

    यही विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र दाहालबीच बढेको अविश्‍वास अझै घटेको छैन। ओलीको शंका मेट्न दाहालले त्यसबेला भैंसेपाटी भेलामा सामान्य राजनीतिक विषयमा मात्रै कुरा भएको जनाउँदै मोर्चाबन्दी नगरिएको उल्लेख गरेर ओलीलाई फकाउने प्रयास गरेका थिए। नयाँ सभामुख चयनलाई लिएर देखिएको किचलोबीच त्यसबेला भैंसेपाटीमा गोप्य बैठक भएको थियो। यो पटक ओलीले ल्याएका दुई विधेयकले निम्त्याएको जटिलता र मधेसवादी पार्टी फुटाउन गरिएको कसरतपछि विकसित घटना लगत्तै बैठक बसेको हो।

     

    प्रधानमन्त्रीले एकलौटी कदम चालेको भन्दै नेकपाका २० जना स्थायी कमिटी सदस्यले बुधबारै विधेयक तत्काल फिर्ता गर्नुपर्ने मागसहित पत्र बुझाएका थिए। विधेयकले नेकपा ने घेराबन्दीमा परेको निचोड भैंसेपाटी बैठकले निकालेको दाबी स्रोतको छ।

     

    सरकारले राष्ट्रपतिबाट अध्यादेश खारेजको निर्णय गराएपछि नेकपाको सचिवालय बैठक बस्ने बताइएको छ। त्यसपछि नेताहरुको माग अनुसार स्थायी कमिटी बैठक डाक्ने तयारी भएको छ।

    ओली शीतल निवासमा दुई

    अध्यादेशले ल्याएको जटिलतापछि प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। सोमबार जारी भएका दुई अध्यादेश फिर्ता गर्ने जनाएका ओली त्यही विषयमा छलफल गर्न शीतल निवास पुगेका स्रोतको दाबी छ।

     

    यो अध्यादेशलाई लिएर नेकपा सचिवालयमा पनि चर्को विवाद भएको थियो। त्यसबेला अध्यक्ष प्रचण्डले अध्यादेशको विरोध गर्दै फिर्ता हुनैपर्ने अडान लिएका थिए। अन्य केही नेताले भने आफूलाई तटस्थ राख्न खोजेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…