• उर्लाबारी । तिल चामल भइसकेकोे कपाल र दारी, कमिज सुरुवाल र हरदम ढाका टोपी लगाएर कहिले शहर त कहिले गाउँतिर घुम्छन् उनी । बुढ्यौलीले छोइ सक्दा पनि उनी समाचार लेखन र रिर्पोेटिङमा अझै थाकेका छैनन् । उनको नाम हो , दुर्गाप्रसाद खतिवडा । सरकारी जागिर हुन्थ्यो भने उनी ५ वर्ष अघि नै सेवा निवृत भइसकेको हुन्थे । तर,नीजि अखवार चलाउन उनलाई न उमेर छेकेको छ न समयले रोकेको छ ।
    भारतको मणिपुरबाट २०३६ सालमा मोरङको उर्लाबारी आएर बसोबास सुरु गरेका खतिवडाले २०४१ सालमा रमेश भट्टराईको सम्पादकत्वमा प्रकाशित युगवाणी साप्ताहिकबाट पत्रकारिताको कखरा सुरु गरे । तर,१० अंक निस्किएपछि युगवाणी साप्ताहिक बन्दभयो । पत्रिका बन्द भएपनि पत्रकारितामा थुप्रै सम्भावना देखिरहेका खतिवडाको पत्रकारिताको भोक मरेन । भन्छन् –‘उसबेलाका पत्रिकाहरूले दाल भात खान त के ? चिया खाजा खान पुग्ने गरी पैसा दिन सक्दैनथे । पत्रकारिता गरेर घर चलाउने पत्रकारको संख्या मोफसलमा असाध्यै कम थियो । ’

    बेरोजगारी समस्याबाट आक्रान्त खतिवडाले आफूलाई पत्रकारिता क्षेत्रमा भुल्याउन धरानबाट प्रकाशित हुने पूर्व टाइम्स साप्ताहिकमा समाचारदाताको भूमिका निर्वाह गर्न थाले । तत्कालिन अवस्थामा प्रतिबन्धित नेपाली कांग्रेसका समाचारहरू खोजी–खोजी लेख्ने पूर्वटाइम्ससँगको उनको सहयात्रा निक्कै लामो समय सम्म रह्यो ।
    ताप्लेजुङ जिल्लाको मयाममा २०१० सालमा जन्मिएका खतिवडाका बुवा दाताराम २०१७ सालमा तत्कालिन नेपाली कांग्रेस ताप्लेजुङको कोषाध्यक्ष थिए । बुबालाई २०२१ सालमा राजद्रोहको मुद्धा लागेपछि उनी पनि बुवासँगै भारतमा निर्वासित भएका थिए । त्यसैले राजनीतिक रुपमा नेपाली कांग्रेससँग नजिक रहेको पारिवारिक पृष्ठभूमिले उनलाई पूर्व टाइम्समा काम गर्न झनै सजिलो भयो । त्यसबेला पूर्व टाइम्स कांग्रेसको घोषणा पत्रका रुपमा प्रकाशित हुने गथ्र्यो । उनले झापाबाट प्रकाशित हुने विबेचना दैनिकमा पनि समाचारदाता भएर काम गरे । उसबेला पनि ५ सय ग्राहकका घरघरमा पत्रिका पुर्याउथिए खतिवडा । आफैंविज्ञापन संकलक , आफै ब्यवस्थापक, आफै रिपोर्टर र आफै वितरक । यद्यपि उनलाई काम गर्न कुनै अप्ठ्यारो महसुस भएन । जतिबेला विबेचनाबाट आर्थिक ब्यवस्थापनको चाँजो मिल्न सुरु भएको थियो त्यसैबेला विबेचना दैनिक पनि बन्द भयो । ३ वर्ष दैनिक पत्रिकामा काम गर्दा उनको लेखन मात्र होइन, विज्ञापन माग्ने र बजार ब्यवस्थापन गर्ने क्षमता पनि वृद्धि भइसेको थियो ।

    तर ,०४६ सालमा बहुदल घोषणा भएपछि साप्ताहिक पत्रिकाको भूमिका अलि साँघुरिदै गयो । ब्रोटसिट पत्रिकाले ट्यावलेट साइजका पत्रिकाहरूलाई ओझेलमा पार्दै गए ।उनी भन्छन् –त्यो बेला पनि मलाई साप्ताहिक पत्रिका चलाएर समाचार पस्कने आँट आयो।’ त्यसपछि उनले ०५५मा डाइजेष्ट टाइम्स साप्ताहिक प्रकाशन गर्न थाले । सानो शहर,थोरै विज्ञापनदाता ,२ वर्ष चलेपछि डाइजेष्ट टाइम्स पनि उनले प्रकाशन गर्न सकेनन् । खतिवडा थप्पछन्–‘ तिहारमा देउसी खेलेर समेत डाइजेष्ट टाइम्सको प्रकाशन खर्च जुटाएँ । विगत सम्झदै उनले भने–‘ धेरै पटक पत्रिका प्रकाशन गर्ने खर्च जुटाउन ऋण काढें ।श्रीमतीका गहना धितो राखेर समेत पत्रिका प्रकाशन गरें । तर पत्रिकाले बजार लिन सकेन ।

    पत्रिका बन्द भएपछि केही समय लायन्स क्लवमा जागिरे बनेका खतिवडाले मासिक १५ सय कमाउन थालेपछि पुन पत्रिका प्रकाशनमा हात हाले । र सुरु गरे आफै प्रकाशक रहेर अलकापूरी साप्ताहिक । १७ वर्ष यता अलकापुरी साप्ताहिक निरन्तर प्रकाशित भइरहेको छ । उनी भन्छन् – पत्रिका प्रकाशन रहरले गरेको होइन , न त शौख नै हो । बेरोजगार समस्याले सताएपछि म पत्रकारितामा आएँ । तर ३२ वर्ष लगातार यो क्षेत्रमा काम गरेपनि सामाजिक सम्मान बाहेक केही जोड्न सकिएन,उनले निराशा प्रकट गर्दै भने ।
    त्यसो त सामाजिक र राजनीति क्षेत्रमा पनि उनको भूमिका महत्वपूर्ण रहेको छ । एक दर्जन बढी सामाजिक संघ संस्था र सहकारीको नेतृत्वमा रहेर उनले काम गरिरहेका छन् । पत्रकारिता क्षेत्रमा उनको योगदान अतुलनीय मान्नु पर्छ । चरम द्वन्द्व चलिरहेको बेला २०६० सालमा उनले विराटनगर बाहिरका पत्रकारहरूलाई समेटेर उर्लाबारीमा सञ्चार क्लव नेपालको स्थापना गरे । दुई वर्ष सम्म आफैंले नेतृत्व गरी नयाँ पुस्तामा जिम्मा लगाएका संस्थाले आजका मिति सम्म युवा पुस्तामा पत्रकारिता प्रति आकर्षण जगाउने ,तालिम चलाउने , पत्रकारहरूको वृति विकासमा काम गरिरहेको छ । भारतको मणिपुरबाट म्याट्रिक पास गर्नु भएका खतिवडाले नेपाल प्रेस युनियन मोरङको कार्यवहाक अध्यक्ष र पटक पटक केन्द्रीय पार्षदको भूमिका निर्वाह गरिसकेका छन् । त्यति मात्र होइन, खतिवडाले आफ्ना बुवा आमाको सम्झनामा दाताराम–पद्मादेवी स्मृति पुरस्कारका लागि १ लाख रुपैयाँको अक्षय कोष समेत स्थापना गरेका छन् । २०७२ देखि दुई जना पत्रकारलाई ५÷५ हजार नगद सहित उक्त पुरस्कार प्रदान गर्न थालिएको छ ।
    नेपाल प्रेस इन्ष्टिच्युट लगायतका धेरै संघ संस्थाबाट पत्रकारिता सम्बन्धी तालिम पनि लिएका खतिवडा पहिले साइकल चढेरै सबै काम भ्याउथे । तर ६३ वर्षीय खतिवडा अहिले स्कुटर चढ्न थालेका छन् । सुचना प्रविधिलाई पछ्याइ रहेका खतिवडा अचेल आफै कम्प्युटर खोलेर किबोर्डमा आंैला राखेर काम गर्न थालेका छन् । यद्यपि बुढेसकालमा उनी पूर्ण रुपमा निपूर्ण भईसकेका छैनन् । ३३ वर्ष देखि पत्रकारितामा रमाइरहेका खतिवडा अहिले उर्लाबारीबाट प्रकाशित हुने राष्ट्रिय समाचारपत्र दैनिकमा प्रकाशन समूहको अध्यक्ष र अलकापुरी साप्ताहिकको सम्पादक, प्रकाशक हुन् । श्रीमति सहित सामूहिक परिवारमा उर्लाबारी–३ बस्दै आएका खतिवडा साप्ताहिक–पाक्षिक छापा माध्यम राष्ट्रिय सञ्जाल मोरङको अध्यक्ष समेत छन् । पछिल्लो समय अनलाइन,टेलिभिजन र एफएम रेडियोका कारण छापा पत्रकारिता संकटमा परिरहेका बताउने खतिवडा राज्यले छापा पत्रकारिता र अन्य विद्युतीय सञ्चार माद्यमलाई एउटै कोटीमा राखेर सेवा सुविधा वितरण गर्दा छापा माध्यमलाई अन्याय हुने बताउछन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…