• विराटनगर — भोजपुरको हतुवागढी गाउँपालिका ६–लङ्खाका २६ वर्षीय एक युवकमा बिहीबार कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित युवक साउदी अरबबाट फागुन ३० गते हिमालयन एयरलाइन्सको उडानबाट काठमाडौं फर्केका थिए ।

    काठमाडौं ओर्लेर उनी काठमाडौं–हिले चल्ने माइक्रो बसबाट धरान आएर चतरा हुँदै उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित ससुराली घर आएर चैत ११ गतेसम्म बसेको हतुवागढी–६ का वडाध्यक्ष सागर राईले बताए । मैनामैनीबाट मोटरसाइकलमा चैत ११ गते नै लङ्खा आइपुगेको राईले थपे । संक्रमितका ससुरालीका व्यक्तिहरु पनि जोखिममा छन् । ‘कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै वडामा त्रास फैलिएको छ,’ उनले भने, ‘लङ्खा टोल र वडा नम्बर ६ लाई सिल गरिएको र सबैलाई सामाजिक दूरी कायम गरेर बस्न लगाएका छौं ।’

    उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले गाउँपालिकाभरिमा भारत, चीन, बहराइन, मलेसिया, कतार र साउदी अरबबाट आएका ११ जनाको तथ्यांक संकलन गरेर वैशाख ९ गते १४ जनाको आरडीटी परीक्षण गरिएको बताए । ‘आरडीटी परीक्षणमा साउदीबाट आएका २६ वर्षीय युवामा मात्रै कोरोना पोजिटिभ देखियो,’ उनले भने, ‘तत्काल उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको आइसोलेसन वार्डमा ल्याएर राखेको र अहिले पनि उनी त्यही बसिरहेका छन् ।’ तर हालसम्म उनको शरीरमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको खतिवडाको भनाइ छ ।

    आरडीटी परीक्षणमा पोजिटिभ आएपछि घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको उनले बताए । प्रतिष्ठानको पीसीआर ल्याबमा गरिएको घाँटीको स्वाब परीक्षणमा संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको थियो ।

    हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले संक्रमित युवक फाल्गुन ३० गते हिमालयन एयरलाइन्सको उडानबाट साउदी अरबबाट काठमाडौं आएको र त्यहाँबाट घुमफिर गर्दै चैत ११ गते लङ्खा पुगेकाले धेरैतिर जोखिम बढाएको बताए । उनको अध्यक्षतामा अहिले गाउँपालिकाको र्‍यापिड रेस्पोन्स टिमको बैठक बसिररहेको छ । जिल्ला सुरक्षा समितिको पनि बैठक बसिरहेकाले दुवै बैठकको निर्णयअनुसार गाउँपालिकाका अन्य व्यक्तिमा संक्रमण फैलिन नदिने रणनीति बनाउने प्रेमकुमारले बताए ।

    ‘गाउँपालिकाकै आइसोलेसनमा रहेका संक्रमित युवकसँग कहाँ–कहाँ गएको को–को सँग भेटघाट गरेको सबै जानकारी लिएर उपचारका लागि प्रदेश सरकारको समन्वयमा पठाउँछौं,’ उनले भने, ‘संक्रमितका परिवारलगायत उनको सम्पर्कमा आएका प्रत्येक व्यक्तिको घाँटीको स्वाबको नमुना परीक्षण गराउने तयारीमा जुटेका छौं ।’ संक्रमित युवक काठमाडौंबाट सार्बजनिक यातायात हायसमा धरानसम्म आएर ससुराली र अन्य धेरैतिर हिँडडुल गरेको उनले बताए । उनले भने, ‘प्रत्येक वडामा सचेतता अपनाउनका लागि वडा समितिहरुलाई निर्देशन दिइसकिएका छौं ।’

    काठमाडौंबाट आएर उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी ससुराली घरमा बसेका संक्रमित युवकको आरडीटी परीक्षणमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि नगरपालिकाले पूर्ण रुपमा सचेतता अपनाएको छ । बेलकाका नगरप्रमुख दुर्गाकुमार थापाले संक्रमितको ससुरालीमा ५ जना रहेको र उनीहरुको आरडीटी परीक्षण गर्दा नेगेटिभ आइसकेको बताए । उनीहरुको ५ जनाको घाँटीको स्वाबको नमुना लिएर बिहीबार परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको र उनीहरुलाई कडाइका साथ होम क्वारेन्टाइनमा राखिएको थापाले बताए । संक्रमित युवक मैनामैनीमा को–कोसँगको सम्पर्कमा गएको र उनका ससुरालीका व्यक्तिहरु कहाँ/कहाँ क–कसको सम्पर्कमा गएको बारे नगरपालिका बेखबर छ । कोरोना भाइरसको संक्रमित प्रदेश १ मा हालसम्ममा २९ र मुलुकभरी ४८ पुगेको छ ।

    ekantipur.com

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…