उर्लाबारी । मोरङको उर्लावरी नगरपालिकाका मेयर खड्गबहादुर फागो स्थानीयले
लकडाउनको उल्लङ्घन गरेपछि आफैँ सडकमा उत्रिएर कारबाहीमा लागिरहेका छन् । त्यसैले उनी अहिले भाइरल छन्।
'कसले के कमेन्ट गर्छ भन्ने आशा छैन। मानव सभ्यता नै समाप्त होला जस्तो भइसकेको छ। हाम्रो जस्तो मुलुकमा भाइरस आए के हुन्छ? केही पूर्वधार छैन। त्यसैले मानिसलाई सचेत गराएको हुँ,' मेयर फागोले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरमै बसेर सरकार चलाइरहेको र सबैलाई घरमा नै बस्न आग्रह गरिरहेका छन्। त्यसैले धेरै मन्त्री, नेता लगायत अन्य मानिस घरमा नै छन्। मेयर फागोले भने घरमा बसेर बालबच्चासँग खेल्न मन भएको भए पनि बाध्यताले निस्किनु परेको बताए।
'मलाई पनि बालबच्चासँगै घरमा नै बस्न मन नभएको होइन। तर, जनप्रतिनिधि भएपछि दुई चार जनाको कारण समुदाय नै असरमा पर्यो भने के गर्ने भनेर मात्र सडकमा उत्रिएको हुँ,' फागोले भने।