•  


    वीरगंज, १९ बैशाख । लकडाउनको अवधि लम्बिएसँगै वीरगंजलगायत पर्सा जिल्लामा कतै खुकुलो त कतै कडाइका साथ लकडाउन पालना गराउने काम भइरहेको छ।

    वीरगंज महानगरपालिकामा तरकारीबाहेक खाद्यान्न सामग्रीहरूको लागि सबै ठाउँमा पसलहरू बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न दिइएको छ।

    माईस्थान, मीनाबजार र सील भएका वडा नं. १, २, ३ र १६ बाहेकका क्षेत्रमा खाद्यान्नपसलहरू अहिले सहजरूपमा सञ्चालनमा छन् भने आममानिसले खरीद गर्न पाएका छन्। खाद्यान्न खरीदका लागि मानिसहरू बजारमा देखिएका छन्। सामाजिक दूरी कायम गरेर खाद्यान्नको खरीद सहज छ।

    तर, तरकारी भने अहिलेसम्म सहज रूपमा पाउन सकिएको छैन। प्रशासनले तरकारी बिक्रीको लागि अहिलेसम्म न समय तोकेको छ, न स्थान नै। लकडाउन शुरू भएको दुई सातासम्म तरकारी बिहान ५ देखि ९ बजेसम्म बिक्री गराएको प्रशासनले भीडभाड बढेपछि रोकेको थियो । अहिले तरकारी ठेलागाडी, साइकल, छैटामा राखेर टोलटोलमा बिक्री भइरहेको छ।

    सील क्षेत्रमा थप कडाइ
    पहिलो चरणमा सील भएको वीरगंज वडा नं. १, २, ३ र १६ मा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आडिटी) गर्दा सबैमा नतीजा नेगेटिभ देखिएपछि बिहान दूध, दिउँसो खाद्यान्न र औषधिका लागि खुकुलो गरेको प्रशासनले वैशाख १४ गते सोही क्षेत्रका दुई ठाउँबाट सङ्क्रमित फेला परेपछि सील क्षेत्रमा थप कडाइ गरेको छ। खाद्यान्न र तरकारी बिक्रीमा रोक लगाएको छ।

    औषधि खरीदको लागि भने मानिसहरूलाई सुविधा दिइएको छ। सील गरिएका वडाका मुस्लिम समुदायलाई कडाइ गरिएपछि रमजानको बेला अप्ठेरो भएको छ। दिनभरि उपवास बसेर साँझ पसल नखुल्दा उनीहरूलाई सामान खरीद गर्न समस्या भएको छ।

    पंचगावाँ : लकडाउनको प्रभाव पर्साका ग्रामीण क्षेत्रहरूमा खासै देखिएको छैन। सीमावर्ती क्षेत्रबाट भारतीय सामान नेपाल भित्रिरहेको छ भने गाउँघरमा खेतीपातीको काम र मेला, हाटबजार चलिरहेकै छन्।

    भारतसँग सीमा जोडिएका पर्साको महादेवपट्टि, जानकीटोला, भिस्वा, मिर्जापुर, प्रसौनीभाठालगायतका क्षेत्र भएर रातको समयमा खाद्यान्न र तरकारी भारतबाट आइरहेका छन्। ग्रामीण क्षेत्रहरूमा लाग्ने हाटबजार र माछामासुको बिक्री वितरणमा खासै अवरोध नदेखिएको महादेवपट्टि निवासी प्रेमलाल चौधरी बताउँछन्।

    लकडाउनका कारण बन्द भएका विद्यालय र सोको प्राङ्गण हाल स्थानीय बालबालिकाको खेलकूद स्थलको रूपमा परिणत भएका छन्। गाउँटोलका मदिरापसलहरू पहिलेभन्दा लकडाउनमा राम्रोसँग चल्न थालेका र निकै भीडभाड हुने गरेको गाउँलेहरू बताउँछन्।

    हाटबजार र सार्वजनिक स्थलहरूमा भीडभाड बढिरहेको छ। पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, जीराभवानी गापा तथा पर्सागढी र बहुदरमाई नगरपालिकामा लकडाउनको खासै प्रभाव नरहेको जगरनाथपुरका मोहम्मद फैजल करिनको टिप्पणी छ।

    यसैगरी, ठोरी गाउँपालिकाको क्षेत्रमा यतिबेला दशैं तिहार आए जस्तो रौनक छ। रामनगर, ब्रह्मनगर, निर्मलबस्ती, विजयबस्ती र सुवर्णपुरका सीमावर्ती पसलहरूमा भारतीय सामान भरिभराउ छन्। पसलहरू जुन बेला पायो, त्यही बेला खुलेका छन्। पसलमा भीडभाड हुँदा पनि क्रेता, विक्रेता दुवैले सुरक्षा सतर्कता अपनाउने नगरेको ब्रह्मनगरका राम तामाङले बताए।

    बाहिरबाट आउनेहरूलाई गाउँपालिकाले होम क्वारेन्टाइनमा रहन भने पनि विशेषगरी युवायुवतीहरू विनाकाम मोटरसाइकलमा गाउँ घुम्ने, भट्टीमा मदिरासेवन गर्ने र चोक चौतारोमा भेला भएर अनावश्यक होहल्ला गर्ने गरेका छन्। मास्क नलगाउने र सामाजिक दूरी कायम गरेको पाइँदैन।

    यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिहरूले खासै चासो नदिएको गाउँका अगुवाहरूको गुनासो छ। गापाका जनप्रतिनिधि र जिम्मेवार प्रहरी एकाइहरूले भने आफूहरूले कडाइ गरिरहेको जवाफ दिएका छन्।
    पोखरिया : वीरगंजमा कोरोना सङ्क्रमित फेला परेपछि पोखरिया क्षेत्रमा प्रहरी प्रशासनले सोमवारदेखि कडाइ गरेको छ।

    आइतवारसम्म तोकेको समयमा पसलहरू खुल्नुका साथै आवागमन पनि खुकुलो हुँदै गएको थियो। तर आइतवार सङ्क्रमित देखिएपछि सोमवारदेखि पोखरियामा पसलहरू बन्द गराइएको छ । आवागमन प्रभावित भएको छ। मोटरसाइकल, साइकल रोकिएका छन् । प्रहरीले दैनिक उपभोग्य वस्तुहरूको बिक्री गर्ने पसलहरूलाई पनि बन्द गराएको प्रतीकमा उल्लेख छ ।

    पर्सागढी : पर्सागढीमा लकडाउन बिस्तारै खुकुलो हुँदैछ। पसलहरू सञ्चालनमा छन्। सवारी आवागमन बिस्तारै खुकुलो भएको छ। साइकल, मोटरसाइकल सञ्चालनमा छन्। चार चक्के सवारीसाधन बन्द छन्। नगरका अधिकांश पसल बिस्तारै खुल्दै छन्। उनीहरूलाई अवरोध गरिएको छैन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…