• जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरू

    काठमाडौँ, वैशाख २१ गते । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ ।
    काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कुल लम्बाइ सात किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि दुईवटा ठेक्कामा काम भइरहेका छन् । कुल लागत ६० करोड रुपियाँमा उक्त सडक खण्डको विस्तार गरिनेछ । उक्त सडक विस्तारको जिम्मा आशिष÷सीएम (जेभी)ले पाएका छन् ।

     

    काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले विगत लामो समयदेखि सवारी जामको समस्या भोग्दै आएको जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तारका लागि ठेक्कापट्टा सम्पन्न भई काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले बन्दाबन्दीमा सामाजिक दूरी कायम गर्दै सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरी विस्तारको काम अगाडि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “उक्त सडक क्षेत्रमा परेका रूखहरूको कटान सुरु भइसकेको छ । त्यसैगरी ढलको पाइप बिछ्याउने कामसमेत सुरु भइसकेका छन् । जम्मा ६७ वटा रूख हटाउनुपर्नेमा अहिलेसम्म ४५ वटाको कटान सम्पन्न भइसकेको छ । अबको तीन दिनभित्र बाँकी रूख कटानको काम सम्पन्न हुनेछ । ”

    अहिले मात्र पाँच र सात मिटर चौडाइ रहेको उक्त सडक विस्तारपछि १४ र २० मिटरको हुनेछ । घरलगायत स्थायी संरचना भएको ठाउँमा सो सडकको चौडाइ १४ मिटर र अन्य ठाउँमा २० मिटर हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सडक खण्डलाई २० मिटर चौडाइमा नै बिस्तार गर्ने हाम्रो नीति हो तर स्थायी संरचना र घर भएको ठाउँमा तत्काल २० मिटर पु¥याउन सकिँदैन, त्यस्तो ठाउँमा १४ मिटर चौडाइमा सडक विस्तार गरिनेछ । ” बढीमा २० मिटर र कम्तीमा १४ मिटर चौडाइमा यो सडक विस्तार हुने उहाँले स्पष्ट पार्नुभयो ।
    ठेक्कापट्टाअनुसार यो सडक खण्ड विस्तार कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण बढीमा कात्तिकसम्म विस्तार कार्य सम्पन्न हुने उहाँले बताउनुभयो । यो सडक खण्ड विस्तारका लागि आर्थिक वर्ष २०७२÷७३ मै सो आर्थिक वर्षको मसान्तसम्म काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो तर सो सडक खण्डको सीमा क्षेत्रमा परेका आठ सय घर हटाउनुपर्ने विवादका कारण अहिलेसम्म काम सुरु हुन सकेको थिएन ।

    घरलगायतका स्थायी संरचना भएको ठाउँमा मात्र १४ मिटर चौडाइ हुने गरी सहमति भएपछि विस्तारको काम अगाडि बढाइएको हो । सहमतिअनुसार सार्वजनिक ठाउँमा सडककोे केन्द्रबाट दुवैतिर १०÷१० मिटर र घर भएको ठाउँमा सडककोे केन्द्रबाट दुवैतिर सात÷सात मिटर कालोपत्रे गरिनेछ । सहमति भएसँगै ठेक्काको म्याद थप गरी काम अगाडि बढाइएको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…