• नेकपाको सचिवालयका सदस्यहरू बामदेव गौतम र विष्णु पौडेलले अन्तिममा आएर केपी ओलीलाई साथ दिएपछि प्रचण्ड-माधवले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आफूसँगै राख्न अनेक कसरत गर्नुभएको छ ।

    नेताहरूको विवादका कारण पार्टी विभाजन नहोस् भनी सचेततापूर्वक आफ्नो विशिष्ट भूमिका निर्वाह गर्दै आउनुभएका श्रेष्ठले समेत ओलीलाई साथ दिएको अवस्थामा प्रचण्ड-माधव पक्ष थप रक्षात्मक बन्ने निश्चित छ । त्यसैले यही वैशाख २२ गते सोमबार प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पूर्वजानकारी नै नगराइ अप्रत्यासित रूपले ललितपुरको हात्तीवनस्थित श्रेष्ठको निवासस्थान पुग्नुभएको थियो । तीन नेता पुग्दा श्रेष्ठ घरमा हुनुहुन्नथ्यो । घरका सहयोगीले टेलिफोनबाट उक्त कुराको जानकारी गराएपछि उहाँ आफ्नो निवासमा पुग्नुभएको थियो ।

    करिव डेढ घण्टासम्म त्यहाँ रहँदा तीनै जनाले श्रेष्ठलाई केपीका विरुद्ध भड्काउन अनेकौँ प्रयास गर्नुभएको बुझिएको छ । उक्त भेटघाटका क्रममा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले आफूहरूको संसदीय दल र स्थायी समितिमा स्पष्ट बहुमत रहेकोले बामदेव र विष्णु पौडेलबाट धोखा भए पनि स्थिति अनुकुल भएको दाबी गर्दै केपी ओलीलाई पदमूक्त गरेरै छोड्ने विश्वास दिलाएको समाचार सूत्रहरूले जनाएका छन् ।

    यसरी तीन नेताहरू ‘लड्ने र जित्ने’ मूडमा भए पनि नारायणकाजी श्रेष्ठ भने पार्टी एकता क्षतविक्षत हुने कुनै पनि क्रियाकलाप कसैले पनि गर्न नहुने भन्नेमा दृढ रहेको बताइन्छ । तर, उक्त भेटघाटपश्चात विभिन्न सञ्चारमाध्यममा अनेकथरी निर्णय भएको भन्ने समाचार सार्वजनिक भएको छ ।

    उक्त भेटका क्रममा वैशाख २० गतेको सचिवालय बैठकमा भएका निर्णय कार्यान्वयन गराउने बाहेक अन्य कुनै कदम चाल्न आवश्यक नरहेको धारणा नारायणकाजी श्रेष्ठले राख्नुभएको बताइन्छ । प्रचण्ड, माधव र झलनाथले भने केपी ओली कुनै पनि निर्णय कार्यान्वयनको पक्षमा नरहेको जिकिर गरेका थिए ।

    त्यसरी प्रचण्ड, माधव र झलनाथ अचानक नारायणकाजी श्रेष्ठको घर पुग्नु र भेटघाटपश्चात् त्यहाँ हुँदैनभएका कुराहरू प्रचार गरिनुले उक्त घटना नियोजित उद्देश्यका साथ भएको देखाउँछ । दुई पक्षभन्दा भिन्न दृष्टिकोणका साथ प्रस्तुत हुँदै आउनुभएका श्रेष्ठ आफ्नो पक्षमा दृढ रहेको देखाउन र केपी ओलीमाथि मनोवैज्ञानिक दबाब दिनका लागि प्रचण्डको योजनामा उक्त भेटघाट रचिएको देखिन्छ ।

    यसअघि यसै महिनाको पहिलो साता महासचिव विष्णु पौडेललाई पनि यसरी नै केपीका विरुद्ध उभ्याउने प्रयास भएको थियो । भैंसेपाटीस्थित बामदेव गौतमको घरमा बैठक गरेर विष्णु पौडेलको घरमा दिउँसोको खाना खाने कार्यक्रम प्रचण्डले बनाएको र पौडेललाई आफूहरू खाना खान आउने जानकारी पनि प्रचण्डले नै गराउनुभएको थियो ।

    प्रचण्ड, माधव, नारायणकाजी, बामदेव र झलनाथ आफूकहाँ खाना खान आउने भएपछि विष्णु पौडेलले घरनजिकैको पाल्पाली रेग्मीको मासु पसलबाट ६ केजी मासु लगेर नेताहरूलाई खानाको प्रबन्ध गरेको बताइन्छ । तर, नेताहरूलाई आफ्नो घरमा भोज खुवाउनुको मूल्य पौडेलले नराम्रोसँग चुकाउनुपर्‍यो । ‘भात’ खाएर नेताहरू बाहिरिनेवित्तिकै विभिन्न सञ्चारमाध्यममा ‘सचिवालयका ६ सदस्य बैठक बसेर केपीको राजीनामा माग्ने र माधव नेपालको नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने निर्णय भएको भन्ने प्रकारका समाचार आए ।

    वास्तवमा त्यस अवसरमा केपीलाई अध्यादेश फिर्ता लिन लगाउने र स्थायी समितिको बैठक बोलाउने भन्ने विषयमा मात्र छलफल भएको थियो । भएको भन्दा बेग्लै प्रकारले प्रचारबाजी भएपछि महासचिव पौडेल सकसमा पर्नुभएको थियो । यथार्थमा प्रचण्डले विष्णु पौडेलकोमा त्यसरी खाना खाने कार्यक्रम राख्नुको एक मात्र उद्देश्य केपी ओलीमाथि मनोवैज्ञानिक दबाब पैदा गर्नु र पराजित मानसिकतामा पुर्‍याएर सजिलै ‘लडाइँ’ जित्नु थियो । तर, विष्णु पौडेल केपीको पक्षमा बलियोसँग उभिएपछि प्रचण्डको योजना असफल भएको थियो ।घटना र विचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…