• २०७७ बैशाख २६ शुक्रबार 

    काठमाडौं । नेपाल–भारत सीमा नाकाको सुरक्षाव्यवस्था थप मजवुत र प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने विषयमा आवश्यक तयारी गरिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न दुईवटै देशका सरकारले सीमा नाका शील गरेसँंगै अवैध मार्ग प्रयोग गर्नेका कारण सुरक्षा चुनौती थपिएपछि उक्त तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    file photo

    गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपाल–भारत सीमा नाकामा चेकपोष्ट र सुरक्षा जनशक्ति अपुग भएकाले सशस्त्र प्रहरी र नेपाल प्रहरी थप्ने विषयमा छलफल भइरहेको बताए।

    करीव एकहजार आठसय ८० किलोमिटर दुरीमा फैलिएको नेपाल–भारत सीमामा कोभिड–१९ संक्रमण नियन्त्रण अभियान अन्तरगत एकहजार दुईसय ३० चेकपोष्ट छन् । मन्त्रालयका अनुसार, एकदर्जन स्थानमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।

    कोभिड–१९ नियन्त्रणका लागि आन्तरिक बन्दाबन्दी र सीमा कडाई गरिएसंगै सुरक्षाकर्मीमाथि चुनौती बढ्ने सम्भावना देखिएको छ । यस्तो समस्या दोहोरिन नदिन सशस्त्र प्रहरीका अतिरिक्त नेपाल प्रहरी समेत परिचालन गर्ने तयारी भएको हो ।

    सशस्त्र प्रहरी प्रवक्ता प्रविनकुमार श्रेष्ठ सीमा सुरक्षाको फ्रण्ट लाइन (अग्रभाग) मा सशस्त्र प्रहरी, त्यसपछि नेपाल प्रहरी र सीमा नाका भन्दा पाँच किलो मिटर भित्रको दुरीमा सेना परिचालन हुन सक्ने बताउँछन् ।

    सीमामा उच्चसुरक्षा सतर्कता अपनाएसँगै सशस्त्र प्रहरीमाथि भारतीय नागरिक र नेपाली नागरिक दुईटै पक्षबाट करीव एकदर्जन स्थानमा अवरोध सिर्जना भएको जानकारी दिर्दै उनले बिओपी (वोर्डर सुरक्षा पोष्ट) बढाएर पाँचसय पु¥याउन प्रस्ताव गरिएको खुलाए ।

    जवरजस्ती आवतजावत गर्न खोज्नेका कारण सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको छ उनले भने – सीमा सुरक्षा पोष्टसंगै आवश्यक जनशक्ति थप गर्ने वित्तिकै यस्ता समस्या विस्तारै समाधान हुन्छन ।

    सीमाको अग्रभागमा सशस्त्र प्रहरीको पहिलो घेरा, दोस्रो तहमा नेपाल प्रहरी र तेस्रो घेरामा सेना रहने गरी तीन तहको सुरक्षा व्यवस्था मिलाउदा सीमा पारि तथा आफ्नै मुलुकबाट हुने अवरोध तथा चुनौती समाधान हुने दावी सुरक्षा अधिकारीको छ ।

    गृह प्रवक्ता शर्माले भारतमा घर र नेपालमा खेतबारी, नेपालमा घर भारतमा खेतवारी भएकाले पनि अन्नवाली भित्र्याउन सीमा आवत आवातमा समस्या हुँदा स्थानीयको अवरोध भएको स्पष्ट पारे ।

    अन्नवाली भित्र्याइ रहेका किसानहरूको आवागमन सहजीकरणका लागि सीमा नाकामा खटिएका दुईटै देशका सुरक्षाकर्मीहरूबीच समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन भएको जानकारी उनले दिए।

    नेपाल प्रहरीले पनि सीमामा थप सुरक्षाकर्मी पठाउन काठमाडौँ उपत्यका लगायत विभिन्न गण, गुल्म र पहाडी जिल्लाहरूसँग सुरक्षाकर्मीको माग गरेको छ । सशस्त्र प्रहरी करीव आठहजार भन्दा बढी खटाइएको छ ।

    नेपाल प्रहरीको संख्या पनि सशस्त्र प्रहरी वलको हाराहारीमा खटाइने भएको छ । प्रहरी प्रवक्ता निरजकुमार शाहीले भने– जनशक्ति कति खटाउन सकिन्छ, सम्वद्ध निकायसँग माग भइरहेको छ ।

    सेनाले पनि कोरोना संक्रमित तराईका विभिन्न शहरी ईलाका, मुख्य सीमा नाकाको पाँच किलो मिटर दुरी भित्रको वस्तीहरूमा आवश्यक सुरक्षागस्ती गर्ने गरेको छ । कोभिड–१९ नियन्त्रणमा स्वास्थ्यकर्मी सहित सेना परिचालन भएको छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…