काठमाडौं, २७ बैशाख । सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेको काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु आगामी आइतबारबाट पुन: संचालनमा आउने भएको छ ।
कोरोना भाइरसको महामारीबाट बाच्न सामाजिक दुरी कायम राख्न अनिवार्य भएपछि सरकारी कार्यालयहरु पनि बन्द रहेका थिए । लकडाउन भएसंगै कतिपय सरकारी कर्मचारी गाउ समेत फर्किएका छन् । उपत्यका मै रहेका कर्मचारीहरुलाई हाजिर गराएर भए पनि सरकारी कार्यालय सञ्चालन हुने भएको छ ।
सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।