काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएको एक मन्त्रीले बताए । सीमा समस्या हल गर्न सरकारले पहल गरिरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।
संसदका विभिन्न समितिहरूले यसबारेमा जवाफ दिन परराष्ट्र र भूमि सुधार मन्त्रीहरूलाई बोलाइरहेका छन् ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमामा भारतले बलमिच्याइँ गरिरहेको भए पनि त्यसको समाधान सडकमा उफ्रेर नहुने बताए ।
भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै अचेल दिनदिनै विभिन्न संगठनहरूले काठमाडौंलगायत ठाउँमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ती प्रदर्शनकारीलाई गिरफ्तार पनि गरिरहेको छ ।