“ओहो ! आज त जेठ ३ गते मदन बाबुले दही र साग थपी–थपी खाएर, दुई दिन पोखरा बस्न आउँछु भन्दै लुँगी र बिफ्रकेश छोडेर जानुभएको थियो, त्यसको केही घण्टामा दासढुङ्गामा गाडी दुर्घटना भएको खबर आयो, निकै विक्षिप्त बनाएको थियो मलाई ।
मदन भण्डारी, जीवराज आश्रित, ऋषि कट्टेल र वाचस्पति देवकोटा जेठ १ गते पोखरा आउँदै हुनुहुन्छ भनेर श्रीमान्ले भन्नुभयो । उहाँहरुको श्रीमान्सँग पार्टीगत रुपमा निकै राम्रो सम्बन्ध थियो । मदनले मेरो श्रीमान्लाई असाध्यै विश्वास गर्नुहुन्थ्यो । जीवराज आश्रित पनि मेरो माइती पाल्पातिरको हुनुहुन्थ्यो, मेरो श्रीमान् र आश्रितसँगै भूमिगत हुनुभएको थियो । कपिलवस्तुमा लुकेर काम गर्नुभएको थियो । सम्बन्ध राम्रो भएकाले पोखरा आउँदा हाम्रो घरमा नै उहाँहरुको बास हुन्थ्यो । मनमोहन, केपी ओली, सिपी मैनाली लगायतका थुप्रै नेताहरु घरमा आउने बस्ने गर्नुहुन्थ्यो ।
त्यो दिन चार जना आउने भने पनि अरु कार्यकर्ता पनि भेट्न आउने भएकाले मैले १५ –२० जनालाई खाना पकाएकी थिएँ । साँझ ८ बजेतिर चारै जना आउनुभयो । बेलुका खाना खाने समयमा गफ चल्यो । मेरो श्रीमान्ले छोरीहरुको लागि के उपहार ल्यायौ चाइनाबाट भनेर सोध्नुभयो । उहाँहरु भर्खर चाइनाबाट आउनुभएको थियो । मदनले देश बनाउने सपना बोकेर हिडेँका हामी छोरीहरुका लागि उपहार किनेर कहाँ भुल्छौँ र, प्लेनमा पाएको दुईवटा चकलेट छ, यही दिने हो भन्दै हाँस्नुभयो ।
उहाँहरुको लागि खाना पस्केँ, मदन बाबुले भन्नुभयो “भाउजू, दही खै त ?” उहाँलाई दही निकै मन पर्छ भन्ने मलाई थाहा थियो । काठको भाँडामा जमाएको दही दिएँ । भाउजूको हातको खानाको स्वाद नै बेग्लै भन्दै खाना थपीथपी खानुभयो । त्यो रात मैले जुठो भाँडा गर्दा १२ बजेको थियो । मदन, आश्रित र वाचस्पति एउटा कोठा र ऋषि कट्टेल र चालक अमर लामा फरक फरक कोठामा सुते ।
उहाँहरु जेठ २ गते बिहान पार्टी काममा निस्कने तरखरमा हुनुहुन्थ्यो । मैले परौठा तरकारी नास्ता खुवाएँ । उहाँहरु आफ्नै काममा लाग्नुभयो । दिउँसोतिर खाना खान आउनुभयो । पार्टीका कुराहरु हुन्थे । जेठ २ गते राति अमर लामा घरीघरी ट्वाइलेट गइरहेको थियो । अलि कस्तो कस्तो व्यवहार देखाएको थियो । मैले श्रीमान्लाई पनि भनेँ, अमर कति छटपट गरिरहेको हो, ट्वाइलेट एट्याच थिएन । भित्र बाहिर गरेको थाहा हुन्थ्यो । श्रीमान्ले केही होइन होला भन्नुभयो ।
जेठ ३ गते बिहान पनि नास्ता बनाएर खुवाएँ । अमरसिंहमा बैठक छ भनेर उहाँहरु जानुभयो । त्यो बिहान अमर लामा गाडी बिग्रेको छ भनेर गयो । मदन, आश्रित, ऋषि, वाचस्पति अनि मेरो श्रीमान् पनि १२–१ बजेतिर खाना खान आउनुभयो ।
मैले सबैलाई खाना राखेँ, कुर्ची टेबल थिएन । गुन्द्री ओछ्याएँ । त्यही अगाडि सबैलाई खाना राखिदिएँ । मदनले ”भाउजू, दही म कचौरामा राख्छु है” भन्दै दही राख्न थाल्नुभयो । सबै खाना खान थाले, तर अमर आएन, खाना बोलाउँदा आनाकानी गरिरह्यो । मदन आश्रितले खाना खाएको पनि घरीघरी झ्यालबाट चिहाएको थियो । वाचस्पतिले अलि चर्कोको स्वरले बोलाएपछि बल्ल आयो तर भात खेलाइरह्यो । उसको मनमा निकै कुरा खेले जस्तो लागेको थियो ।
दिउँसो ३ या साढे ३ बजे, मलाई ठ्याक्कै याद भएन, उहाँहरु पोखरामा पार्टीको कार्यक्रम सकाएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशनको लागि जिाने तरखर गर्नुभयो । मैले आज आराम गर्नुस्, भोलि बिहान ५ बजे नै नास्ता खाएर जानुहोला भनेँ । मदन बाबुले भन्नुभयो “भाउजू, भर्खर चाइनाबाट आएको हिसाबकिताब पनि बुझाउनु छ, चितवनको कार्यक्रम सकेर गोर्खा जान्छु र त्यसपछि दुई दिन बस्ने गरी पोखरा आउँछु ।”
उहाँले एउटा लुँगी र सानो ब्रिफकेश यहीँ छोड्नुभयो । मैले सधैँ पूजा गर्ने भएकाले ढोका नजीक राखेको पूजाको थाली निकालेँ र टीका लगाइदिएँ । मदन हा.. हा.. गरेर मजाले हाँस्नुभयो, मैले किन हाँस्नुभयो भनेर प्रश्न गरेंँ, उहाँले भन्नुभयो “भाउजू, हजूरको तरिका देखेर नि, आमा जस्तै सबै ख्याल गर्नुहुन्छ ”।
मैले हिँड्ने बेला वरपीपललाई दाहिने पारेर जानू है भने । चिप्लेढुङ्गामा अहिले पनि वरपीपलको रुख छ । जीवराज आश्रितले अल्सर भएको छ भाउजू, तातोपानी खान्छु भन्नुभयो । मैले उहाँको लागि मात्रै परौठा र परबरको तरकारी टिफिनमा राखिदिएँ, तातोपानी तुमलेटमा राखिदिएँ, अरुले होटलमा खाए पनि हजूरले यो खानुहोला भन्दै दिएँ ।
अमर आएन, मैले अमरलाई बोलाउन गएँ, उसले मदनको सुटकेश टेबलबाट भुइँमा बजार्दै झा¥यो, मैले किन त्यसो गरेको, फुट्ने सामान होला भनेँ, ऊ केही बोलेन । ड्राइभर रिसाउँदा मनमा चिसो पसेकाले मदनलाई अमर रिसाएको कुरा गरेँ । उहाँले अमरलाई तीन वर्षदेखि पालेको र उसको बानी त्यस्तै भएको भन्दै चिन्ता नलिन भन्नुभयो ।
सबै जना हामीबाट बिदा भएर चितवन लाग्नुभयो । साँझ ६ बजेतिर होला फोन आयो, मदन आश्रित सवार जीप दासढुङ्गामा दुर्घटना भयो भनेर । म झसङ्ग भएँ, पत्याउने कसरी ? छिट्टै आउँछु भन्दै कपडा राखेर जानुभएको । हरेक कुराले झल्झली आउन थाल्यो ।
ऋषि र वाचस्पतिको घर गोरखा भएकाले खैरेनीमा ओर्लनुभएको रहेछ । घरबाट जाँदा औद्योगिक क्षेत्रसम्म मेरो श्रीमान् पनि त्यही गाडीमा गएको देख्नेहरुले पनि फोन गर्न थाल्नुभयो । निरन्तर फोनको घण्टी आउन थाल्यो । म कुनै जवाफ दिन सक्ने अवस्थामा भइन । अमरको व्यवहारले त्यही समयदेखि चिसो बनाएको थियो । मेरो मनले झन् धेरै शंका गर्न थाल्यो ।
आज मदन आश्रित गुमाएको २६ वर्र्ष बितिसकेको छ । सरकारको उच्च ओहोदामा उहाँकै पत्नी विद्या हुनुहुन्छ । उहाँकै पार्टीले सरकार चलाइरहेको छ । फेरि पनि यो घटनाको वास्तविकता थाहा हुन सकेको छैन । कहिलेकाहीँ एकदम नरमाइलो लाग्छ । आज पनि दही र साग खाँदा मदनलाई सम्झन्छु । उहाँले छोडेको लुँगी र ब्रिफकेस पनि पछि काठमाडौँ पठाइदिएँ ।
हाम्रो मानसपटलमा उहाँ एक असल र दूरगामी विचार बोक्ने निष्ठावान् नेताको रुपमा रहिरहनु भएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहदुलीय जनवादले नेपाल कम्युनिष्ट आन्दोलनको मार्गचित्र कोरेको छ । नेता मदन भण्डारीका पदचापलाई पछ्याउन सके विकास हुने थियो भन्ने लागिरहन्छ ।
(उद्योगपति एवम् तत्कालीन उद्योग तथा जलस्रोतमन्त्री हरिप्रसाद पाण्डेकी श्रीमती तुलसा पाण्डेसँग कुराकानीमा आधारित, ।
---