काठमाडौँ — कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्ने बताए । उनले भने, 'लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो ? सोचिराछु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ ।'
कान्तिपुरका मकर श्रेष्ठसँग ती महिलाका श्रीमानले भनेको कुरा जस्ताको त्यस्तै :
विवाह भएको १३ वर्ष भयो । मेरो घर र ससुराली सँगै हो । हाम्रो गोंगबुमा कोठा छ । यहीं तरकारी पसल गर्थ्यौं । पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं ।
मुलुकमा लकडाउन सुरु भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले । हामी पनि जाने कि भन्ने सल्लाह गर्यौं तर डाक्टरले सुत्केरी हुने मिति जेठ २२ लाई दिएको थियो । गाउँमा गएर पनि सुत्केरी हुन गाह्रो होला भनेर गएनौं ।
डाक्टरले दिएको मितिभन्दा एक महिनाअघि वैशाख २३ मा श्रीमतीलाई सुत्केरी व्यथा लाग्यो । हामी वैशाख २३ मा टिचिङ अस्पताल गयौं । २४ गते बिहान ४ बजे सुत्केरी भइन् । छोरा जन्मियो । उनको अवस्था सामान्य थियो । २५ गते नै अस्पतालले डिस्चार्ज दियो । लकडाउनमा काठमाडौं बसेर स्याहार पुग्दैन भनेर हामीले घर जाने निधो गर्यौं । बाह्रबिसेबाट एम्बुलेन्स आएको रहेछ । त्यसमै जाने भयौं । कोठामा गएर छोरालाई लिएर आयौं, कपडा पनि झिक्यौं । अस्पतालबाटै तयार भएर हामी घर गयौं । दोस्रो सन्तान शल्यक्रियाबिना भएकाले हामी खुसी थियौं । घरमा सुत्केरी भेट्न ससुरालीतिरका आफन्त पनि आए । खुसियाली साट्यौं ।
वैशाख ३१ गते राति उनले सास फेर्न गाह्रो भयो भनिन् । जेठ १ गते बिहानै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बोलेरो गाडीमा राखेर लगें । चिकित्सकले एक्सरे गरेर हेरे । छातीमा खराबी रहेकाले एन्टिबायोटिक चलाउनुपर्ने भएकाले सुत्केरीलाई जोखिम हुने भन्दै थप उपचार गर्न धुलिखेल वा काठमाडौं लैजान चिकित्सकले सुझाव दिए । तर तत्काल एम्बुलेन्स पाइएन । बेलुका ७ बजे एम्बुलेन्स आयो । धुलिखेल अस्पताल ल्याइपुर्याउँदा साढे ९ भइसकेको थियो । अस्पतालको गेटमा पुग्नेबित्तिकै उनलाई गाह्रो भयो । अस्पतालभित्र लगेर चिकित्सकले हरप्रयास गरे । भेन्टिलेटर चलाए । पम्प दिए । तर बचाउन सकिएन भनेर डाक्टरले सुनाए । अस्पताल ल्याएको आधा घण्टामै उनको मृत्यु भयो ।
ममी, बहिनी र म आएका थियौं । रातभरि रोएरै बस्यौं । आफन्तलाई उनको मृत्युको खबर सुनायौं । भोलिपल्ट हामीले उनको शव सद्गतका लागि लैजान खोज्यौं तर अस्पतालले कोरोना परीक्षण गर्ने भनेर लैजान दिएन । शुक्रबार पनि हामी दिनभरि शव लैजान कुर्यौं । अस्पताल प्रशासनले शनिबारसम्म रिपोर्ट आउने भएकाले पर्खन आग्रह गरेको थियो । हामीले आफन्तलाई त्यही जानकारी गरायौं ।
शनिबार बिहान फेरि शव दिन अनुरोध गर्दा डाक्टरले हामीलाई थप सतर्क भएर, कसैलाई नछोई, छुट्टै बस्न आग्रह गरे । अस्पतालले नभने पनि श्रीमतीको मृत्यु कोरोनाले भएको हो कि भन्ने शंका लाग्यो । केही बेरपछि इमर्जेन्सी वरिपरि कसैलाई आउन दिएनन् । त्यसपछि उनको मृत्यु कोरोनाकै कारण भएको रहेछ भन्ने लाग्यो । अस्पतालमा केही कर्मचारीले मृत्युको कारण कोरोना भएको पनि सुनाए । त्यसपछि थप सतर्क भयौं । १० दिनको बच्चा स्वस्थ छ । उसलाई ल्याक्टोजिन खान दिइरहेका छौं । ठूलो छोरा गाउँमै छ । उनीसँगको सम्बन्ध सम्झिरहेको छु । रुन्छु । मैले चिन्ता लिँदा आमा र बहिनीले पनि चिन्ता लिने भएकाले मन दह्रो बनाएर बसेको छु । अस्पतालले शनिबार दिउँसो १० दिनको छोरा र हाम्रो पनि स्वाब परीक्षणका लागि लगेको छ । रिपोर्ट के आउने हो ?
लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो ? सोचिराछु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ ।
(कान्तिपुर अनलाइनबाट)