पुष्कर खड्का
काठमाडौ - नेपाली सेनाको पोशाक लगाएर सवारी चलाउने एक युवकलाई सेनाले नियन्त्रणमा लिएको छ। सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै गरेका बाँसबारी बस्ने २९ वर्षीय सुशील खड्कालाई सेनाले नियन्त्रणमा लिएको हो।
बाँसबारीमा राजु कोल्डस्टोर नामको होटलका संचालक खड्कालाई सैनिक प्रहरीले महाराजगंजबाट नियन्त्रणमा लिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले जानकारी दिए। प्रहरीले चेकजाँच नगरोस् भनेर खड्काले सधैँ सैनिक पोशाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेयले बताए।
“उनले सैनिक पोशाकको दुरुपयोग गरेका छन्। अब हामी छानविन गर्छौं,” पाण्डेयले नेपाल समयसँग भने, “सरकारले ६ महिनापहिले नै सर्वासाधारणलाई सैनिक पोशाक प्रयोग नगर्न सूचना जारी गरेको थियो।”उनले सैनिक पोशाक कताबाट ल्याए भन्ने छानविन गरेर कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने बताए।
सर्वसाधारणले नेपाली सेनाको पोशाक लगाएर सवारी चलाउन थालेको पाइएपछि राजधानीका चार स्थान (बानेश्वर, महारागन्ज, कालीमाटी र थापाथली)मा सैनिक प्रहरीले चेकजाँच सुरु गरेको छ। प्रवक्ता पाण्डेयले आइतबारबाट चार स्थानमा सैनिक प्रहरीले सैनिक पोशाक लगाएर आउनेलाई चेकजाँच गर्न थालिएको जानकारी दिए।
“हामीले कार्यालयभित्र काम गर्नेलाई बाहिर जान नदिने र बाहिरकोलाई भित्र प्रवेशमा रोक लगाएका छौं,” उनले भने, “बजारमा सैनिक पोशाक लगाएर सवारी चलाउनेको संख्या बढेको सुनिएपछि चेकजाँच थालिएको हो ।