झापा, ८ जेठ ।
पूर्वी दक्षिणी झापाको कचनकवल गाउँ पालिकामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टिन व्यवस्थापनमा लापरवाहीकै कारण संक्रमितको संख्या बढ्ने देखिएको छ ।
छिमेकी देश भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न सहज बाटो बनिएको कचनकवलमा भारत लगायत देशबाट आउने व्यक्तिलाई राख्न निर्मित क्वारेन्टिन भीडभाड जोड्ने आधारका रूपमा विकसित हुँदै जाँदा त्यँहा रहेका व्यक्तिमा कोरोना संक्रमण जोखिम बढेको हो ।
स्थानीयका अनुसार कचनकवलका पाठामारी, केचना र घेरावारी क्षेत्रका नाकाबाट भारतका विभिन्न शहरमा कामका लागि गएका व्यक्तिहरू सहजै प्रवेश गर्ने गरेका छन् । त्यहाँका स्थानीय व्यक्तिहरूले भारतबाट लुकीछिपी आउनेलाई क्वारेन्टिनमा बस्न सुल्भाए अनुसार क्वारेन्टिन पुग्ने गरेका हुन् । तर, गाउँ पालिकाले निर्माण गरेका क्वारेन्टिन भवनहरू व्यवस्थित नभएकै कारण कोरोना संक्रमितको संख्या उल्लेख्य बढ्ने अवस्था आएको स्थानीयको भनाइ छ ।
पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमवार परीक्षणका क्रममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । मंगलवारको परीक्षण रिपोर्टले नयाँ ९ जना थपिएसँगै कचनकवलमा मात्र कोरोना संक्रमितको संख्या १० पुगेको छ । संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । यसअघि झापामा संक्रमित देखिएका बाह्रदशी र दमकका दुई जना उपचारपछि घर फर्किसकेका छन् ।
कचनकवल नाकाबाट शनिवार भारतको मुम्बइबाट दिल्ली हुँदै लुकिछिपी आएका ३३ जनालाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएर पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरुमध्ये १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ । रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए ।
कचनकवल गाउँपालिकाका विभिन्न नाकाका भारतीय सीमा क्षेत्रबाट चार दिनभित्र मात्र १ सय ४६ जना नेपाल प्रवेश गरेका छन् । मकैबारीबाट नेपाल प्रवेश गरेका भनिएका उनीहरूलाई गाउँ पालिकाले सधै ट्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टिनमा राखिएको कचनकवल गाउँपालिकाका क्वारेन्टिन संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष विजयकुमार राजवंशीले बताए ।
भारतसँग सीमा जोडिएको कचनकवलमा एकै पटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै ५ दिनका लागि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बुधबार बैठक बसेर गाउँ सिलको निर्णय भएको बताए ।
वडाध्यक्ष राजवंशीका अनुसार संक्रमित १० सहित ३३ जना पथरिया माविको क्वारेन्टिनमा बसेका थिए । विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित छैन । संक्रमित १० जना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टिनमा बसेका अरूसँगै राखिएको वडाध्यक्ष राजवंशीले बताए ।
जसका कारण अरूमा पनि संक्रमण सर्ने खतरा रहेको छ । ‘एउटा कोठामा नअटेपछि दुई जनालाई अरू सातजना भएको कोठामा राखेका थियौँ,’ उनले भने, ‘जोखिम एकदमै छ । त्यसैले सबैको स्वाब संकलन गरेर पठाएका छौँ ।’
संक्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालय समेत एउटै रहेको उनले बताए । ‘जम्मा दुईवटा शौचालय थिए,’ राजवंशीले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्थे ।’ स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टिन व्यवस्थित गर्न नसकिएको उनले बताए । ‘क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौति रहेको छ ।
केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने ?’ राजवंशीले भने, ‘एउटै कोठामा १० जनासम्म राख्नुपरेको छ । यसले गर्दा पनि समस्या निम्तिएको छ । सिमावर्ती क्षेत्रका स्थानीय तहमा खुला सीमाबाट लुकिछिपी आउने नागरिकका कारण हैरान भएका छन् ।
प्रत्यक्षदर्शी स्थानीयका अनुसार क्वारेन्टिनमा रहेका मानिसको खानपान, बसोबास हेर्दा विवाह, व्रतमन्न भोजमा सामेत भए जस्तो सामुहिक शैलिको देखिने गरेको छ । एक जना संक्रमितका कारण सवै संक्रमित हुनु पर्ने अवस्था क्वारेन्टिनबाटै निर्मित भएको त्यँहा रहेका व्यक्तिहरूको गुनासो छ ।