रतुवामाई — रतुवामाई नगरपालिका २ का ४१ वर्षीय पुरुषमा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी बुधबार बिहान भारतको अहमदाबादबाट आएका थिए ।
उनलाई कोभिड १९ उपचार केन्द्र विराटनगरमा ल्याउने तयारी भइरहेको रतुवामाई नगर प्रमुख रविन राईले बताए ।
लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई सीमाबाटै नियन्त्रणमा लिएर नगरपालिकाको क्वारेन्टाइनमा राखिएकोले गाउँमा संक्रमण फैलिनबाट जोगिएको राईले बताए ।
जेठ २ गते रतुवामाई नगरपालिका १ का २५ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी पनि रोजगारी गरेर भारतको मुम्बईबाट फर्केका थिए ।
रतुवामाई नगर प्रमुख राईले भारतमा रोजगारी गरेर लुकीछिपी फर्केकाहरुमा संक्रमण देखिएको बताए । अझै ठूलो संख्यामा भारतमा रोजगारी गरेर फर्किरहेको सूचना आएकोले व्यवस्थापनका लागि तयारीमा जुटेको उनले बताए ।