काठमाडौँ, ११ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट नेपालमा आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएको छ। नियमित पत्रकार सम्मलेन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त कुराको पुष्टि गरेका हुन् ।
आज आइतबार संक्रमण हुनेहरुमा मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना रहेका छन । यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको हो।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।