उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले इद पर्वले सबै नेपालीबीच आपसी भ्रातृत्व विकास हुने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको पवित्र चाड इदका अवसरमा उहाँले सांस्कृतिक सम्पदाको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भ्रातृत्व र एकतालाई मजबुत बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
इदुल–फित्र (इद) को अवसरमा नगरप्रमुख फागोले भन्नुभएको छ, “मुस्लिम समुदायको महान चाड एवं सद्भाव र भाइचाराको महान् पर्व ईदुल–फित्र (इद) को उपलक्ष्यमा यस नगरमा रहनुभएका तथा देश विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
उहाँले साँस्कृतिक चाडपर्व हरेक समुदायका आफ्ना मौलिक पहिचान तथा राष्ट्रका अमूल्य निधि भएको उल्लेख गर्नुभयो ।
मेयर फागोले कोरोनाविरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दूरी कायम गर्दै दिनचर्या अघि बढाउन आवश्यक रहेको स्मरण गराउँदै इद पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन मुसलमान समुदायमा आग्रह गर्नुभएको छ ।
–––