पुष्कर खड्का
रामेछाप - राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा रामेछापका चर्चित युवा नेता माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन् ।
हिजो सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्याकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो । नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुङ्गेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
ढुङ्गेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका थिए । सरकारले विसं २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो ।
ढुंगेलले यस अघि रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवासमा एक कार्यकाल युवा परिषदको सफल नेतृत्व सम्हालिसकेको थियो ।
केही समय अघिदेखी ढुंगेलको पदावधि सकिएपछि राष्ट्रिय युवा परिषदको कार्याकारी उपाध्यक्ष पद रिक्त रहेको थियो ।