उर्लाबारी । विश्वभरी कोरोना भाइरस फैलिएको छ । ३ लाख ५२ हजार भन्दा बढीका मृत्यु भइसकेको छ भने ५६ लाख ८८ हजारभन्दा बढी संक्रमितको संख्या पुगिसकेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन ।
नेपालमा चार जनाको मृत्यु भइसकेको छ भने ७ सय ७२ भन्दा बढी संक्रमितको संख्या पुगिसकेको छ । सरकारले लकडाउन गरेको दुई महिना वितिसकेको छ । अब कहिलेसम्म लकडाउन जारी रहने हो भन्ने निश्चित छैन । छिमेकी मुलुक भारतमा तीब्र गतिमा कोरोना संक्रमित बढेसँगै नेपाल पनि उच्च जोखिममा छ । खुल्ला सीमानाका कारण भारतीय नागरिकहरु सहज रुपमा नेपाल प्रवेश गर्ने गरेका छन् । सीमा क्षेत्रमा कडाई गरेपछि लुकीछिपी मकैबारी हुँदै नेपाली र भारतीय नागरिकहरु नेपाल प्रवेश गर्दै आएका छन् । भारतबाट आउने अधिकांश कोराना संक्रमित देखिएका छन् । जसले गर्दा भारतसँग सिमा जोडिएका क्षेत्रहरु झनै जोखिम देखिएको छ । सरकारले कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइरहेको छ ।
स्थानीय, प्रदेश र संघीय सरकार कोरोना भाइरसबाट जनतालाई बचाउन सक्रियपूर्वक लागिपरेका छन् । प्रहरी,स्वास्थ्यकर्मीलगायत यतिबेला आफु जोखिममा परेर खटिरहेका छन् । सरकारले घोषणा गरेको लकडाउनलाई कार्यान्वयन गराउन स्थानीय सरकार र प्रहरी प्रशासनको अह्म भूमिका रहेको छ । दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका परिवारलाई राहत वितरणलगायतका काममा पनि स्थानीय सरकार लागि परेको देखिन्छ । यहाँ के प्रसंग जोड्न खोजिएको हो भने कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउन कार्यान्वय गर्ने क्रममा मुलुकभर उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो चर्चाको पात्र बने ।
लकडाउन घोषणाको सुरुवातमै भाटे कार्वाहीमा उत्रिएका मेयर फागोले दर्जन बढी सर्वसाधारणलाई अनावश्यक रुपमा हिँड्डुल गरी लकडाउन उल्घंन गरेको भन्दै भाटे कार्वाही गरे । त्यसपछि सामाजिक सञ्जाल मेयर फागोको समर्थन र विरोधमा रंगियो । अधिकांशले मेयर फागोको कदमको खुलेर प्रशंसा गरे भने केहीले कडा रुपमा विरोध जनाए । सामाजिक सञ्जालमा मेयर फागोलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नेसम्म भेटिए भने मेयरको गुण्डागर्दीको पराकाष्ट भन्ने पनि नभेटिएका होइनन् ।
सामाजिक सञ्जाल र युट्बमा मेयर फागो खुबै छाए । लामोसमयसम्म मेयर फागोको भाटे कार्वाही युट्बको टे«न्डिङमा प¥यो । धेरै खोजीमा पात्र पनि मेयर फागो बने । युट्बरहरु अन्तरवार्ताका लागि लामबद्ध लागे । केहीमा अन्तरवार्ता दिनसम्म भ्याए मेयर फागोले । निकै तनाबपूर्ण भएपछि मेयर फागोले कतिपय अन्तरवार्ता लिन आएका युट्बर जिल्ल पारेर पनि फर्काए ।
समर्थन र विरोधको कुनै प्रवाह नगरी मेयर फागो निरन्तर लकडाउन पालना गराउने अभियानमा सक्रिय रहनुभयो । भाटे कार्वाहीको एक सातापछि गरिब तथा विपन्न परिवारको घरदैलोमा मेयर फागो राहत लिएर पुगे । करिब ५ सय परिवारलाई सहयोगीदातामार्फत सहयोग जुटाई राहत वितरण गरे । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरकार्यपालिकाको बैठकमार्फत एकद्धार प्रणालीमार्फत वडा स्तरीय सर्वदलीय समितिको सिफारिसमा वडा कार्यालयमार्फत राहत वितरण भइरहेको छ । नगरपालिकाले तेस्रो चरणसम्म राहत वितरण गरिसकेको छ भने प्रदेश सरकारको सहयोगमा चौंथो चरणमा राहत वितरण भइरहेको छ । मेयर फागोले गरिब तथा विपन्न समूदायलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न वडा कार्यालयहरुलाई अनुरोध गरेका छन् । उनले स्कुटर तथा मोटसाइकलमा राहत लिन आउने, आईफोन बोक्ने, सुन लगाउने, बैदेशिक रोजगारमा रहेका, ब्याजमा रकम लगाउनेलगायतलाई राहत वितरण गर्न नहुने बताउँदै आएका छन् । उर्लाबारीबासी भोकै हुन नदिने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।
भाटे कार्वाही गरेर कानुन हातमा लिन मिल्छ मेयर साप भन्ने प्रश्नमा जनतालाई कोरोना भाइरसबाट जोगाउनु स्थानीय सरकारको दायित्व हो, अतिआवश्यक काममा हिँडेकालाई छोडियो तर, अनावश्यक हिँड्नेलाई सामान्य चेतावनीमात्र दिएको उल्लेख गरेका थिए । उनले सबै उर्लाबारीबासीलाई लकडाउनको पालना गरी सचेत नागरिकको परिचय दिन अपिल गरेका छन् । लकडाउनको सुरुवातदेखि अहिलेसम्म पनि मेयर फागो सक्रियपूर्वक लकडाउन कार्यान्वयमा खटिरहेका छन् । छिमेकी नगरपालिका दमक र रतुवामाईमा कोरोना भाइरसको संक्रमित फेला परेपछि उर्लाबारीमा थप कडाई गरिएको छ ।
उर्लाबारी भित्रिने नाकामा थर्मलगनमार्फत चेकजाँच र अनावश्यक रुपमा हिँड्नेको मोटरसाइकल नियन्त्रण तथा गोलो घेरामा उभ्याउने कार्य गरिएको छ । मेयर फागोसँगै इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख झरेन्द्रप्रसाद चापागाई, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास राई, सशस्त्र प्रहरी निरीक्षक मात्रिका पौडेल, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीसमेत सक्रिय पूर्वक लागि परेका छन् । त्यस्तै, उर्लाबारी–३ का जनप्रतिनिधि भीष्म बुढाथोकीको नेतृत्वमा प्रहरीको साथी म समेत प्रभावकारी रुपमा परिचालन भएको छ ।