• काठमाडौं । नेपाल–भारत सिमा विवाद, कोरोना भाइरस नियन्त्रण र अध्यादेश प्रकरणले सत्तारुढ दल नेकपा भित्रको शक्ति सन्तुलन परिवर्तन हुने सम्भावना बढ्दै गएको छ ।

    शक्ति संघर्ष तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा वित्तिकै सुरु भएको नेकपामा अहिले भने सन्तुलन परिवर्तन हुने अवस्थामा पुगेको नेताहरु बताउँछन् ।

    नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनअपेक्षा अनुसारको काम गर्न नसकेको, महत्वपूर्ण इश्युलाई नजरअन्दाज गर्दै अर्कै इश्युमा केन्द्रीत भएको भन्दै परिवर्तन गर्नुुपर्ने पक्षमा नेताहरु छन् ।

    पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले ओलीविरुद्ध पटक पटक गठजोड नै बनाउँदै आएका छन् ।

    उनीहरुले ओलीले २०७४ सालको निर्वाचनमा जाँदा पार्टीले बनाएको घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न नसकेको, पार्टी र सरकारमा सन्तुलन मिलाउन नसकेको, राजनीतिक नियुक्तिमा दक्ष, सक्षमलाई भन्दा पनि आफ्ना निकटस्थलाई भर्ती गरेको, विश्वव्यापी महामारीका रुपमा फैलिएको र नेपाल पनि अछुतो नरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको आरोप ओलीमाथि लगाइरहेका छन् ।

    ओलीविरुद्ध गठजोड बनाएका नेताहरुले जति नै सचेत गराउँदा पनि ओलीको बानी नसुध्रिएको निष्कर्ष निकालेका छन् । नेताहरुले जसरी भए पनि हटाएर आफूहरु सत्ता र पार्टीको शक्तिमा पुग्नेगरी अनौपचारिक छलफल सुरु गरेका छन् ।

    गठजोड निकटस्थ नेताहरुले ओलीलाई हटाएर नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र अर्का अध्यक्ष प्रचण्ड एकल पार्टी अध्यक्ष बन्नेगरी छलफल सुरु जानकारी दिएका छन् । यस छलफलमा निष्कर्ष भने निस्किनसकेको स्रोतको भनाइ छ ।

    नेकपा भित्रको शक्ति सन्तुलनमा ओली, प्रचण्ड र नेपाल करिब करिब बराबरीजस्तै अवस्थामा देखिन्छन् । तर, दुई नेता एकापट्टि भएमा पासा पल्टाउन सहज हुने विश्लेषण पनि एकाथरीको छ । त्यसैले अब सत्ता र पार्टीको शक्तिमा नयाँ व्यक्ति पुग्ने हो या अहिले नै आसिन व्यक्ति रहने हुन, त्यो यसै भन्न सक्ने अवस्था छैन् ।

    तर, चनाखा ओलीले भने उनीहरुले सहजै आफ्नो योजनामा सफल हुन दिने छैनन् । अहिलेसम्म नेताहरुले गरेका पटक पटकका प्रयास ओलीले असफल बनाइ दिदै आएका छन् ।

    नेताहरुले ओलीले पार्टी र सत्तामा एकलौटी गरेको आरोप लगाउँदै गठजोड बनाइरहेका हुन् । तर, ओली सच्चिएनन् भने पासा पल्टिन सक्छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच एउटाले सत्ता र अर्कोले पार्टी सञ्चालन गर्ने र ओलीलाई दुबै ठाउँबाट गलहत्याउने सैद्धान्तिक सहमति बनेको बताइन्छ ।

    ओलीले महामारीको बेलामा त्यसतर्फ विशेष ध्यान दिनु पर्नेमा नदिएर नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा हतारो गरेपछि नेताहरुले शंका गरिरहेका छन् । यो बेलामा ओलीलाई सत्ताबाट गलहत्याउन भारतको पनि साथ रहने नेताहरुको आकलन छ ।

    त्यसमा आइतबारबाट मात्रै केही समय मथ्थर भएको अमेरिकी सहयोग नियोक (एमसीसी) पनि ब्यूतिएकाले थप मलजल गर्ने देखिन्छ । अबको सत्ताको अवस्था कस्तो रहने भन्नेमा ओलीको नेतृत्वदायी र समन्वयकारी भूमिका कस्तो हुन्छ, त्यसले निर्धारण गर्नेछ ।

    नेता नेपालले पनि समन्वय गर्न कत्तिको सक्छन् र ओलीसँग असन्तुष्ट बनेका नेताहरुको चित्त बुझाउन सक्छनकि सक्दैनन्, त्यसले उनी प्रधानमन्त्री बन्ने वा नबन्ने निक्यौल गर्छ । किनकि पहिला अडान लिने र अन्तिम अवस्थामा आएर खुट्टा कमाउने उनको बानीले नेताहरुले विश्वास गरिहाल्ने अवस्था नेपालले अहिलेसम्म सृजना गर्न सकेका छैनन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…