उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले लकडाउन उल्लंघन गरेको भन्दै दुई जना सब्जी व्यापारीलाई कुटपिट गरेका छन् ।
नगरप्रमुख फागोले बिहीबार राति साढे ११ बजे उर्लाबारी ३ सुनझोडा पुलको चेकपोष्टमा सब्जी व्यापारी उर्लाबारीका शंखर चौधरी र पवन चौधरीलाई कुटपिट गरेका हुन् । उनीहरू उर्लाबारी ७ घर भएका दाजुभाइ हुन् ।
इनरुवादेखि झापाको चारआलीतर्फ लैजाँदै गरेको सब्जीको गाडी रोकेर नगरप्रमुख फागोले नगररक्षकले बोकेको लाठी प्रहार गरेको पीडितले बताएका छन् । दिनभरी कृषकले उत्पादन गरेको सब्जी संकलन गरेपछि गाडीमा लोड गर्दा राति भएकोमा उर्लाबारी प्रवेश गर्ने सुनझोडा पुल स्थित चेकपोष्टमा आइपुग्दा मेयर फागोले कुटपिट गरेको पीडितको भनाइ छ ।
‘चेकिङ्गमा मेयरलाई देखेपछि बा १५ च ७३५२ नम्बरका सब्जीको गाडीबाट उत्रिएर नमस्कार गरेको थिएँ,’ पवनले हाम्रो मतसँग टेलिफोन सम्र्पकमा भन्नुभयो, ‘एक्कासी गाडी फर्का भन्दै भाई शंखरमाथि नगर प्रहरीले बोकेको लाठीले पिट्न थाल्नुभयो । मेयर साब ! यसरी कुटपिट गर्नु हुदैन, मर्छ भनेर भाइलाई जोगाउँन जाँदा आफूले पनि कुटाइ खाएँ ।’ फागोको कुटाईबाट शंकरको टाउँको र शरिरको विभिन्न भागमा निलडाम रहेको छ । घाइतेको उर्लाबारी ३ मंगलबारे अस्पतालमा उपचार गरिएको थियो ।
यता उर्लाबारी नगरपालिकाको नगर प्रमुख फागोले भने लकडाउनको उल्लघन गरेको पाइएपछि सामान्य भनाभन मात्र भएको दावी गर्नुभएको छ । लकडाउनको उल्लंघन गर्दै माक्सको पनि प्रयोग नगरेको र दुई जनाको फरक–फरक भनाई भएकोले सामान्य बिवाद भएको उहाँको जिकिर छ ।
फागोले गल्ती स्वीकार गरेपछि सहमति
यसैबीच सब्जी व्यापारीलाई मध्यराति कुटपिट गरेको विषयलाई लिएर शनिबार उर्लाबारी उद्योग वाणिज्य संघको कार्यालयमा भएको छलफलमा नगर प्रमुख फागोले गल्ती स्वीकार गरेपछि सहमति भएको छ । आउँदा दिनमा यस्तो गल्ती नदोहरल्याउने नगर प्रमुख फागोले बताएकोले सहमति गरिएको पवन चौधरीले बताउनुभयो ।
छलफलमा नगर प्रमुख, कुटपिटबाट घाइते, उद्योग बाणिज्य संघका पदाधिकारी र संचारकर्मीहरूको पनि सहभागिता रहेको थियो । मेयरको कुटाई खाएपछि पीडितले न्याय माग्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरीसमेत दिएका थिए । तर, व्यापारीसँगको छलफलमा माफी मागेपछि थप कार्वाही अगाडि नबढाएको पीडितको भनाइ छ ।
हाम्रोमतबाट साभार