•  

     

     

     

     

     

     

     

     

     सोमवार, जेष्ठ १९, २०७७ 

    शनिबार यस दैनिकमा ‘अवैध गर्भ फाल्न आउँदा पक्राउ’ शीर्षकको समाचार प्रकाशित भयो । समाचारमा उल्लेख भएअनुसार धादिङ घर भएका ३७ वर्षीय काका र १६ वर्षीया भतिजीबीचको यौन सम्बन्धका कारण अवैध गर्भ रहन पुगेपछि भरतपुरस्थित एक निजी अस्पतालमा गर्भपतन गराउन आउँदा ३० हप्ताको भ्रूण रहेपछि अस्पतालले अस्वीकार गरी डिस्चार्ज गरिदियो । धादिङ र गोरखाका विभिन्न अस्पतालमा चहारेपछि अन्ततः भरतपुरमा पनि गर्भपतन हुन नसकेपछि पीडित बालिकालाई कालिका नगरपालिकास्थित आफन्तको घरमा राखियो । धादिङबाट अवैध सम्बन्ध भई गर्भपतन गराउन भरतपुरस्थित एक निजी अस्पतालमा आएको भन्ने सूचनाका आधारमा पीडक पक्राउ परे । जेठ १२ गते जिल्ला प्रहरी कार्यालय धादिङमा बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । पीडकले बालिकालाई ०७६ कात्तिक पहिलो साता घरमै बलात्कार गरेको र त्यसपश्चात् पनि पटकपटक बलात्कार गरी ज्यान मार्ने धम्कीसमेत दिएकाले पीडितले घटना बाहिर ल्याउन नसकेको उजुरीमा उल्लेख छ । चितवनमा यसअघि फागुन १० गते राति भरतपुर २७ मा आफैँेले जन्माएको २८ वर्षीय छोराबाट ७० वर्षीया आमा बलात्कार भएको घटना सार्वजनिक भएको थियो । चितवनमै गत असोजमा १४ वर्षीया छोरीलाई बलात्कार गर्ने खैरहनी–१ का ४२ वर्षीय बाबुलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

     

     

    यस्ता प्रकृतिका घटनाले सभ्य समाजलाई कलङ्कको टीका लगाउने काम गरेकोमात्रै छैन मानवीय मूल्यमान्यता र विवेकमा खडेरी परेको अनुभूति गरिएको छ । हाडनाता करणीअन्तर्गत पर्ने बलात्कारका विभिन्न प्रकृतिका घटना सार्वजनिक हुँदै आएका छन् । र, सो कसुरमा सजाय सुनाइएका घटना पनि प्रकाशमा आएका छन् । तर, एकपछि अर्को गम्भीर प्रकृतिका फौजदारी अपराधका श्रृङ्खला बढोत्तरी भइरहेका छन् । यसअघि माघ २० गते आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाई पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा ती बाबुलाई भक्तपुर जिल्ला अदालतले २३ वर्ष जेल र तीन लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको खबर सार्वजनिक भएको थियो । मुलुकी अपराध संहिता, २०७४ ले हाडनाताबीचको यौन सम्बन्धलाई कसुर मानेको छ । कसैले कुनै महिलाको मञ्जुरी नलिई वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई कसुर गरेमा जबर्जस्ती करणी मानेको छ । अपराध संहितामा १६ वर्ष वा सोभन्दा बढी उमेरकी महिलामाथि कसुर गर्नेलाई १२ वर्षसम्म कैद र हाडनाता करणीमा ६ वर्षसम्म कैद तथा ६० हजारसम्म जरिवाना हुने प्रावधान छ । केही समयअघि छोेरीलाई बलात्कार गर्ने बाबुलाई ओखलढुङ्गा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

     

     

    मुलुकभर महिला हिंसा र अपराधमा बढोत्तरी भइरहँदा सभ्य समाजको परिकल्पना गर्नु नै पटाक्षेपजस्तो बन्न पुगेको छ । बलात्कारका औसत घटनाहरु दुर्गम र पिछडिएका गाउँबस्तीमा हुँदै आए पनि पछिल्लो समय शिक्षित र सभ्य भनिएकाहरुबाटै बालिकादेखि वृद्धासम्म असुरक्षित हुँदै आएका छन् । मनमा पाप र पुण्यको अलिकति पनि चेत नभएका पशुतुल्य मानिसहरु यही समाजमा जीवितै रहिआएका छन्, जसले कमजोर वर्ग र शारीरिक दुर्बलता भएकामाथि निरन्तर आक्रमण गरिरहेका छन् । इन्सेकले आफ्नो वर्ष पुस्तकमा बागमती प्रदेशका १३ जिल्लामा बलात्कारका घटनामा ६६ प्रतिशत बालिका प्रताडित भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । बलात्कारका ३८६ घटनामा बालिकाको संख्यामात्रै २५३ हुनुले समाजमा बलात्कारका घटना कसरी बढोत्तरी भइरहेको छ भन्ने पुष्टि गर्छ । विभिन्न घटनामा बालिका, अपाङ्ग, असहाय, वृद्धा तथा कमजोर वर्गहरु नै बलात्कारको सिकार हुने गरेका छन् । पछिल्लो समय घरकै पारिवारिक सदस्यबाट महिला असुरक्षित हुनुपर्ने नियतिले अपराध न्यूनीकरण हुन नसकेको देखाउँछ । समाजलाई अपराधमुक्त बनाउन परिवार, समाज सबैको उत्तिकै भूमिका र दायित्व हुन आउँछ । त्यसैले, सबै किसिमका अपराधीलाई कानुनी दायरामा ल्याई सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु जरूरी भएको छ ।चितवन पोष्ट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…