•  

    काठमाडौँ, जेठ २१ गते । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैतभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीका कारण दुई महिनाभन्दा बढी समय विद्यार्थी घरमा बसे पनि उनीहरूको शैक्षिक सत्र खेर जान नदिन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । मन्त्रालयका अनुुसार असार १ देखि सुरु गरिने वैकल्पिक विधिको कक्षा सञ्चालन कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण जनजीवन सामान्य नहुँदासम्म सञ्चालन गरिनेछ ।

    विद्यार्थीको खोजी
    वैकल्पिक विधिबाट कक्षा सञ्चालन हुनुअघि विद्यालयले आफ्ना पुराना तथा नयाँ विद्यार्थीको खोजी गर्नुपर्ने जनाइएको छ । अनलाइन कक्षा सञ्चालन प्रभावकारी बनाउन विद्यार्थीको उपस्थिति हुनुपर्ने औँल्याइएको छ । विद्यालयले आफ्ना विद्यार्थीलाई पुस्तक तथा नतिजा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । अघिल्लो शैक्षिक सत्रजस्तो हिसाबले विद्यार्थी भर्ना गर्न व्यावहारिक समस्या भए पनि विद्यालयले आफ्ना विद्यार्थीको अभिलेखीकरण गरेर पठनपाठन अघि बढाउन सक्ने प्रवक्ता शर्माले बताउनुभयो । निजी विद्यालयका सञ्चालकहरूले पनि आफ्ना विद्यार्थी खोजी गर्दै उनीहरूलाई वैकल्पिक विधिबाट पढाउने तयारी गरिने जनाएका छन् ।

    निर्णयको स्वागत
    यसैबीच असार १ देखि वैकल्पिक विधिबाट पढाउने गरी सरकारले बाटो खुला गरेकोमा निजी तथा आवासीय विद्यालय सम्बद्ध संस्थाहरूले स्वागत गरेका छन् । जारी बन्दाबन्दीका कारण घरमै रहेका बालबालिकालाई वैकल्पिक विधिबाट सिकाउने निर्णय स्वागतयोग्य भएको जनाइएको छ ।
    राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटाले अभिभावकसँग सम्पर्क स्थापित गरेर विद्यार्थीको विवरण अद्यावधिक गरेपछि वैकल्पिक विधिबाट पढाउन सुरु गरिने जानकारी दिनुभयो । विद्यार्थी भर्ना, मासिक शिक्षण शुल्कलगायत विषय अभिभावकसँगको संवादपछि मात्रै तय हुने र यसमा स्पष्ट हुन केही समय लाग्ने उहाँको भनाइ छ ।
    अभिभावकसँगको समन्वयमा कुनै न कुनै हिसाबले शुल्क लिनैपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । विद्यालयले बालबालिकाको पठनपाठनमा चासो देखाएपछि अन्य विषय समाधान हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका पुरीले विद्यार्थीलाई अझै केही महिना कक्षा कोठामा ल्याएर पढाउन नसकिने तथा विद्यालयमा सामाजिक दूरी कायम गर्न सम्भव नभएको स्पष्ट गर्दै वैकल्पिक विधिबाट पढाउने कुरालाई नै अब प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पार्नुुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…