पुष्कर खड्का
काठमाडौ -सिन्धुली जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाग्मती प्रदेशको हेटौडामा रहेको किटजन्य अनुसन्धान प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका २३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।
संक्रमित व्यक्ति भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए । संक्रमित पुरुषलाई सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने तयारी भएको शाहले बताउनुभयो ।
सिन्धुलीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि सिन्धुली स्थायी ठेगाना भई काठमान्डौ बस्ने एक २७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको थियो ।