काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणमा ९ अर्ब ८७ करोड खर्च भएको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा सार्वजनिक गरिएको खर्चको विवरणमा ९ अर्ब ८७ करोड खर्च भएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार सरकारले अहिलेसम्म कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।
सचिव बिडारीले कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको बताए । स्थानीय तहबाट भएको खर्चको पूर्ण विवरण आइनसकेको उनले बताए । उनका अनुसार कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ।
यस्तै आजको समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । लकडाउन खुकुलो बनाउनेबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि समितिले छलफल गरेको छ । बैठकमा तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बझुाउने समझदारी भएको बताइएको छ।