जेठ २२, काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव पठाइएको बताए ।
सम्भवत बिहीवार (आजै) क्याबिनेटले प्रस्ताव स्वीकृत हुने स्रोतले बताएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको आज संख्या २६ सय ३४ पुगेको छ | कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।