• रञ्जना अधिकारी, इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ इटहरा स्थित डिपु गाँउमा मदन–आश्रित पार्क निमार्ण सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल प्रवाहा–तत्कालिन नेकपा मालेको जन्मस्थल बक्राह खोलाको किनारमा रहेको डिपु गाँउमा यो ऐतिहासिक पार्क निर्माण गर्न लागिएको हो ।

    २०३५ सालमा नेकपा माले स्थापना भएको टेकबहादुर राईको घरलाई केन्द्र बनाएर मदन–आश्रित फाउन्डेसनले ऐतिहासिक पार्क निर्माण सुरु गरेको छ । पार्कको शिलान्यास शुक्रबार नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले गर्नुभयो ।

    बिहान ११ बजेको साइतमा शिलान्यास गर्न तयारी गरिएकोमा लगातारको वर्षाले शिलान्यास कार्यक्रम दुई घण्टा अवरुद्ध भयो । झरीका बीच बैदिक विधिविधान अनुसार पूजाआजा गरेर नेता रेग्मीले पार्कको शिलान्यास गर्नुभयो ।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता रेग्मीले नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह–नेकपा मालेको जन्मस्थलको संरक्षण–सर्वधन गरिनु सबै वामपंथीहरुका लागि गौरव भएको बताउनुभयो । मदन भण्डारीको अगुवाई र व्यवस्थापनमा यस स्थलमा तत्कालीन कोअर्डिनेशन केन्द्रको सम्मेलनबाट नेकपा मालेको गठन भएको स्मरण गराउँदै उहाँले आजको विशाल कम्युनिस्ट पार्टी–नेकपाको वैचारिक र सांगठानिक जग त्यही सम्मेलनले तयार गरकोे दाबी गर्नुभयो ।

    समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा जुटिरहेको बेला पार्टी केन्द्रले त्यो इतिहासलाई आत्मसात् गरेर अगाडी बढ्नु पर्ने उल्लेख गर्दै नेता रेग्मीले आफ्नो नेतृत्व भएको बेला सरकार नै मुख्यरुपमा यस स्थलको विकासमा लाग्नुपर्ने धारण राख्नुभयो । उहाँले फाउन्डेसनका पदाधिकारी र निर्माण समितिका सदस्यहरुलाई चुस्त दुरुस्त र पारदर्शी ढङ्गले योजना सञ्चालन गर्न आग्रह पनि गर्नुभयो ।

    नेकपा मोरङका सचिव गणेश उप्रेतीले मदन–आश्रित पार्कलाई भोलीका दिनमा वामपंथी स्कुलका रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपालका दुईवटा ठुला कम्युनिस्ट पार्टी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण पछि नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी–नेकपाको निर्माण भएको भन्दै वामपंथी आन्दोलनको विकाससँग जोडिएका ऐतिहासिक स्थलहरुको संरक्षक र विकासमा तीनै तहका सरकारहरु लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    पार्टी एकिकरण पछि दुबै पार्टीको इतिहास, विचार र संगठनको स्वामित्व एकिकृत पार्टीले ग्रहण गरिसकिकाले अब कुनै पनि इतिहास एमाले र माओवादीको नभई सिङ्गो नेकपाको भएको पनि सचिव उप्रेतीले उल्लेख गर्नुभयो ।

    रतुवामाई नगरपालीकाकी उपप्रमुख दयन्तादेवी चुडालले पार्र्टी निर्माण गर्ने ऐतिहासिक स्थल र सेल्टरहरु पार्टीले बिर्सिदै गएको भन्दै दुखेसो गर्नुभयो । ढिलै भएपनि पार्टी निर्माणका क्रममा महत्वपूर्ण योगदान दिने टेकबहादुर राईको घरजग्गामा मदन–आश्रित पार्क निर्माण हुनुले यस क्षेत्र र सिङ्गो पार्टीको इतिहासको सम्मान भएको उहाँको भनाई छ ।

    पार्क निर्माणका लागि १ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपैया विनियोजन गरेको फाउन्डेसनका अध्यक्ष मेघनाथ शर्मा कट्टेलले जानकारी दिनुभयो । लकडाउनका कारण चैतमा सम्झौता हुन नसकेकाले बाध्यताबस निर्माण कार्य थाल्न ढिलो भएको उहाँले बताउनुभयो ।

    उहाँले पार्क निर्माणको इन्जिनियरिङ डिजाइन संक्षिप्त रुपमा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार सम्मेलन भएको टेकबहादुर राईको घरलाई केन्द्र भागमा राखेर पार्क निर्माण गरिने छ । घरलाई पूर्वगत अवस्थामा सकेसम्म दुरुस्त बनाएर पुनःनिर्माण गरिने छ र यसलाई सङ्ग्राहलयका रुपमा विकास गरिने छ ।

    घरको पूर्वपट्टी पार्टी स्थापना स्तम्भ निर्माण गरिने छ । कलात्मक रुपमा निर्माण हुने स्तम्भको माथिल्लो भागमा कम्युनिस्ट पार्टीको पहिचान हसिया हतौडा राखिने छ । त्यसमाथि सधै राष्ट्रिय झण्डा फहराइने छ । स्तम्भ वरिपरी सम्मेलनमा सहभागी २५ जना प्रतिनिधिको चिनारीसहित प्रतिमा राखिने छ ।

    पार्कको दक्षिण तर्फ सुविधा सम्पन्न सभाहल निर्माण गरिने छ । पश्च्मि भागमा एक विगाहको क्षेत्रफलमा बाल उद्यान निमार्ण गरिने छ । बक्राह खोलाको किनारतर्फ एकिकृत धार्मिक पार्क निर्माण गरिने छ । यसमा स्थानीय सबै धर्मावलम्बीहरुको अपनत्व र सहभागिता हुने गरी धार्मिक संरचनाहरु निमार्ण गरिने छन् ।

    कम्युनिस्ट आन्दोलनको आधार भूमि र इटहराको गौरवका रुपमा रहेको यस पार्कको निमार्णमा तनमनले सहयोग गर्न स्थानीयबासीलाई उहाँले आग्रह गर्नुभयो । निर्माणका क्रममा कुनै पनि किसिमको तलमाथि हुन नदिने भन्दै खुल्ला र पारदर्शी ढङ्गले योजना सञ्चालन गरिनेमा विस्वस्त रहन अध्यक्ष कट्टेलले आग्रह गर्नुभयो ।

    २०३५ साल पुस ७ देखि ११ गतेसम्म टेकबहादुर राईको घरमा भएको सम्मेलनले नेकपा माले गठन गरेको थियो । २५ जना प्रतिनिधिको सहभागितामा ५ दिनसम्म चलेको सम्मेलनले सिपी मैनालीको नेतृत्वमा उक्त पार्टी गठन गरेको थियो । ११ जनाको केन्द्रिय कमिटिमा ३ सदस्सिय पोलिट्ब्युरो गठन गरिएको थियो । महासचिव मैनालीसहित जीवराज आश्रित र माधव नेपाल पोलिट्ब्युरोमा हुनुहुन्थ्यो ।

    केन्द्रिय कमिटीमा मदन भण्डारी, रत्नकुमार वान्तवा, मोदनाथ प्रश्रित, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदिप नेपाल लगायतका नेताहरु हुनुहुन्थ्यो । त्यस समयमा केपी ओली, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु जेलमा हुनुहुन्थ्यो । चिनिँया नेता माओत्से तुङको जन्म दिवस पारेर डिसेम्बर २६ अर्थात पुस ११ गतेका दिन उक्त पार्टीको घोषण गरिएको थियो ।

    मदन–आश्रितका नाममा पार्क बन्ने भएपछि स्थानीयबासी खुसी भएका छन् । ढिलै भए पनि कम्युनिष्ट आन्दोलनको एउटा ऐतिहासिक स्थलको संरक्षण हुने भएकोमा आफूलाई ज्यादै खुसी लागेको भन्दै यस कार्यमा सके अनुसारको सहयोग गर्ने स्थानीय बामपन्थी अग्रज सुरेन्द्र कुथुमीले बताउनु भयो । बन्न लागेको पार्कको उत्तरपट्टि रहेको चौबाटोमा मदन भण्डरीको सालिक निर्माण होस् भन्ने इच्छा पनि उहाँले व्यक्त गर्नुभयो ।

    ऐतिहासिक पार्क बन्ने भएकाले आफू बसिरहेको जग्गा पनि सस्तो मुल्यमा फाउन्डेसनलाई दिएको टेकबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो “ त्यति बेला पनि आफूले सकेसम्म सहयोग गरेकै हो, अहिले पनि गर्दैछु, भोली पनि गरौँला ।” राईले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो, “पार्टीले आफूलाई बिर्सिसके जस्तो लागेको थियो तर ढिलै भए पनि सम्झिया,े खुसी लागेको छ । ”

    फाउन्डेसनले सिकर्मी डकर्मीको सीप भएका टेकबहादुरलाई नै पार्कको पर्खाल निर्माण र सम्मेलन घरको पुनःनिर्माण गर्ने जिम्मा दिएको छ ।

    पार्क शिलान्यास पश्चात  कुराकानी गर्दै पूर्व सांसद वीरबहादुर लामाले नेकपा माले गठन भएको स्थलमा ऐतिहासिक पार्क बन्न लागेको सुन्दा आफूलाई ज्यादै खुसी लागेको प्रतिक्रिया दिनुभयो । उक्त सम्मेलनका प्रतिनिधि लामाले आफूहरुले त्यतिबेला गरेको योगदानले एकिकृत कम्युनिस्ट पार्टीको जग बसाएको र त्यसैको आधारका नेकपाले अहिले मुलुक संचालन गरिरहेको विचार व्यक्त गर्नुभयो ।

    कम्युनिस्ट आन्दोलनको ऐतिहासिक स्थलको संरक्षण–संवर्धन हुनु अत्यन्त सराहनिय भएको भन्दै उहाँले यसले कम्युनिस्ट आन्दोलनलाई थप मार्गदर्शन गर्ने बताउनुभयो ।

    तत्कालीन समयको संस्मरण गर्दै उहाँले भन्नुभयो, “ सिपी मैनाली, माधव नेपाल, अमृत बोहोरा र म चार जना बाराबाट भारत छिरेर सीतामाडी हुँदै फेरी जनकपुर निस्कियौँ । त्यहाँबाट राजमार्ग हुँदै मोरङ पुग्यौँ र जंगलको बाटो छिचोलेर इटहरा पुग्यौ । सम्मेलन पाँच दिनसम्म चल्यो । टेकबहादुर जिले पुरै घर हामीलाई जिम्मा लगाउनुभयो । स्थानीयको सुरक्षा र सहयोगमा पौष ११ गते सम्मेलन सम्पन्न भयो । ”

    लामाले कुराकानीका क्रममा भावुक हुँदै सहिद रत्नकुमार वान्तवाको सम्झना गर्नुभयो । उहाँले भन्नुभयो, “बाँचे फेरी भेटौला, मरे सहिदहरुको रगतको भेलमा भेटौला भन्दै बिदा हुनु भएको रत्न कमरेड त्यसको केही दिन पछि इलाममा मारिनुभयो । उहाँको हत्याले पार्टीलाई ठुलो क्षती भयो ।

    काठमाण्डौमा मिर्गौलाको उपचार गारारहनु भएका मकवानपुर निवासी ७० बर्षीय लामाले भन्नुभयो, “ मेरो स्वास्थ्य अहिले कमजोर छ । हप्ताको दुई चोटी मिर्गौलाको डाइलासिस गर्नुपर्छ । स्वास्थ्यले साथ दियो भने म पार्क उद्घाटनको बेला आउछु । ”

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…