काठमाडौ । सरकारले लकडाउन (बन्दाबन्दी) खुकुलो बनाउदै गर्दा कोरोना संक्रमणले महामारीको रुप धारण गर्ने अबस्था छ । जेठ ३२ गतेपछि लकडाउन क्रमशः हटाउने घोषण गरेको दोस्रो दिन कोराना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । हिजो शनिवार मात्र ३ सय २३ जना कोरोना संक्रतिम फेला परेका छन् । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कुल संक्रमितमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् । हिजो शनिवारै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको छ ।
जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका५ ८ वर्षीय पुरुषलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । दम रोगले समेत पीडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको थियो ।
यस्तै त्यसैगरी मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको हो ।
२४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ । सरकाले करिव तीन महिनामा कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको बताएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।