• ट्रमा सेन्टर नामाकरणको विवाद के हो ?

    प्रदेश सरकारको नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई विकास गरेर मदन भण्डारी ट्रमा सेन्टर तथा अस्पतालको रुपमा विकासित गर्ने योजना अघि सारेपछि स्थानीयवासी नामाकरणको विरोधमा उत्रिएका हुन् ।
    उनीहरुले मंगलबारे अस्पताल तथा ट्रमा सेन्टरको नाम नै उपयुक्त हुने भन्दै नयाँ नाम नमान्‍ने बताउँदै आएका छन् । स्थानीयवासीमा व्यक्ति विशेषको नामाकरण गर्दा मंगलबारेको पहिचान गुम्‍ने डर छ ।
    मंगलबारेमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान मदन भण्डारीकै नाममा रहेको र भएको अस्पताल पनि मदनकै नाममा राख्दा सबै संरचना 'मदन'को नाममा निर्माण गरिँदा यहाँको स्थानीय पहिचान गुम्‍ने स्थानीयवासीको बुझाइ छ । स्थानीयवासीले मदन भण्डारी स्मृति प्रतिष्ठान मंगलबारेमा भइसकेकाले अब सरकारी अस्पताललाई पनि मदनको नाम जोडेर राख्दा पहिचान गुम्‍ने बुझाइ छ ।
    अर्को विवाद भनेको मंगलबारे चोक दक्षिणमा रहेको प्रतिष्ठानले घेरेर ठूलो क्षेत्रफलको जमिन हो । ठूलो क्षेत्रफलको उक्त जमिनमा यसअघि मदन भण्डारी अस्पताल निर्माण गरिने भन्दै प्रचार गरिएको थियो । तर धेरै वर्ष बितिसक्दा समेत उक्त स्थानमा जग्गा कब्जा मात्रै भएको र कुनै संरचना निर्माण नुहँदा स्थानीयवासी असुन्तुष्ट बनेका हुन् । उक्त जमिन खाली राखेर भएको अस्पताललाई मदनको नाममा नामाकरण गरेर विवादमा ल्याउन खोजिएको स्थानीयवासीको बुझाइ छ । यही विषयले गर्दा उनीहरु अस्पताल नामाकरणको विषयमा असहमति जनाइरहेका हुन् ।
    प्रतिष्ठान सामाजिक संस्था भएपनि त्यहाँको स्वीमिङ पुल र संग्रहालयमा जान स्थानीयले पनि शुल्क तिर्नुपर्ने,सुविधा नभएको भन्दै असन्तुष्ट जनाइरहेका छन् । 'मदन'को नाममा नेकपाका केही नेताहरुले प्रतिष्ठानलाई भझाएर 'व्यापार' गरेर कमाइ खाने भाडो बनाएको आरोप स्थानीयको छ । यी विषयहरु पनि अस्पताल नामाकरण विवादमा 'आगोमा घ्यू थपेको' बुझ्न सकिन्छ ।

    ट्रमा सेन्टर के हो,के गर्छ यसले ?

    ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँ हो। चिकित्सकहरूका अनुसार, रोग र चोटपटक फरक कुरा भएकाले यसका उपचार विधि, उपकरण र विशेषज्ञ पनि फरक हुन्छन्। दुर्घटना वा प्रकोपस्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पुर्‍याइने घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैनन्।
    गम्भीर घाइतेलाई उचित ढङ्गले ट्रमा सेन्टर पुर्‍याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन र काम गर्न सक्छन्।
    सेन्टर हाडजोर्नीसम्बन्धी चोटपटक लागेका बिरामीको उपचार गर्ने ठाउँ हो जहाँ दुर्घटना वा अन्य कुनै कारण चोट लागेका बिरामीलाई आपत्कालीन उपचार गरिन्छ । ट्रमामा पूर्ण विशेषज्ञ सेवा दिइने भएकाले हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सव, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूह आवश्यक हुन्छ ।
    मंगलबारेमा प्रस्तावित ट्रमा सेन्टर ५० शैय्याको हो भने लक्ष्य सय शय्याभन्दा बढी रहेको छ । मंगलबारे अस्पतालको स्तरोन्नती गर्ने भनेर नेकपाले आफ्‍नो घोषणापत्रमा उल्लेख गरेरकाले त्यसै अनुसार उसले अस्पतालको स्तरोन्नतीसँगै ट्रमा सेन्टरको रुपमा विकासित गर्ने योजनामा रहेको नेकपाका नेताहरु बताउँछन् ।
    ट्रमा सेन्टरमा विशिष्ट उपकरणसहित विषयविज्ञ चिकित्सकद्वारा सेवा दिइन्छ र अकालमा हुने मृत्युबाट बचाउन सकिन्छ ।

    ट्रमा सेन्टर चलाउन सजिलो छ ?

    ट्रमा सेन्टर चलाउन सोचे जस्तो सजिलो छैन । यो सेवा विशिष्ट र महँगो सेवा हो । यो सञ्‍चालनमा आएसँगै मानिसहरुको चाप बढ्नेमा दुई मत छैन ।
    यस्तै मंगलबारेमा गेस्ट हाउसहरुको स्थापना सँगै धेरै रोजगारकी र अवसरहरु ल्याउने निश्‍चित छ । सञ्‍चालन गर्न धेरै रकम खर्च हुने भएकाले यसलाई प्रदेश सरकारले आफ्नै मातहतमा ल्याएर सञ्‍चालन गर्ने योजना राखेको छ ।

    ट्रमा सेन्टरको आवश्यकता किन ?

    ट्रमाको अवधारणा अमेरिकाको क्युबेन सहरबाट सुरु भएको हो । राम्रो ट्रमा सेन्टर भएमा दुर्घटनामा परेकाहरूको मृत्युदर ६५ प्रतिशतबाट धेरै तल झार्न सकिन्छ ।
    नेपालमा दुर्घटनामा परेर मृत्यु हुनेमा पाँच देखि ४४ वर्ष उमेरका मानिस बढी रहेको तथ्याङ्क छ । नेपालमा बढ्दै गएको सवारी दुर्घटनालाई हेर्दा मृत्युको तेस्रो कारण सवारी दुर्घटना बन्न सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
    अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण बनेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक तीन जनाको मृत्यु तथा १२ जना गम्भीर घाइते हुने गरेका छन् । नेपालमा सेन्टरमा सञ्चालन भएमा दुर्घटनाबाट हुने मृत्युको कारण निकै कम हुने विश्वास गरिएको छ ।

    मंगलबारेमा नै किन रोजियो ?

    हालको मंगलबारे अस्पताल पूर्व पश्चिम राजमार्गमा छ । अस्पतालको क्षेत्रफल पनि ठूलो छ । सबै ठाउँबाट केन्द्रमा भएकाले यहाँ ट्रमा सेन्टरको आव्शयकता देखिएको छ । अहिले दुर्घटनामा धेरै केशहरु धरानको वीपी प्रतिष्ठान नभए विराटनगरको न्युरो र नोबेल लैजानुपर्ने बाध्यता छ । त्यही भएर मंगलबारेलाई ट्रमा सेन्टर रोजिएको छ ।
    नेकपाले आफ्‍नो घोषणा पत्रमा पनि मंगलबारे अस्पतालको स्‍तरोन्नती गर्दै ट्रमा सेन्टरको रुपमा विकासित गर्ने योजना अनुरोप मंगलबारे अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको देखिन्छ ।

    यसमा लगानी कति हुन्छ ?

    ट्रमा सेन्टरमा लगानीको कुरा गर्दा करोडौंदेखि अर्बौसम्म पनि हुन् सक्छ । कुन स्तरको ट्रमा सेन्टर निर्माण गर्ने भन्‍ने कुरामा यो भर पर्छ । अर्को विषय भनेको यहाँ दिइने विशेषज्ञ सेवा तथा कस्ता उपकरणहरु राख्‍ने भन्ने विषयहरुले लगानीको कुरा आउँछन् ।
    अहिले नेपालमा वीर अस्पतालमा मात्रै ट्रम सेन्टर छ । मंगलबारेमा ट्रमा सेन्टर निर्माण हुँदा यो नेपालकै दोस्रो ट्रमा सेन्टर हुनेछ । यसमा लगानी वृद्धि गर्दै लैजाने बहुवर्षीय परियोजना हुन सक्छ । यसमा यति नै लगानी हुन्छ भन्ने कुरा छैन ।
    पछिल्ला वर्षहरुमा हेर्ने हो भने मंगलबारे अस्पतालमा ट्रमा सेन्टर निर्माण गर्नका लागि ४ करोडभन्दा बढी रकम प्रदेश सरकारबाट आइसकेको छ । हालसम्म मंगलबारे अस्पतालमा यतिको रकम केन्द्रबाट समेत आएको थिएन ।
    जेठ र असार मसान्तभित्र मंगलबारे अस्पतालमा एक करोडको भौतिक संरचना निर्माणको काम सक्नुपर्ने अवस्था छ । उपभोक्ता समिति निर्माण गरेर यो आर्थिक वर्ष सकिनुभन्दा अघि १ करोडको काम गरेर देखाउनुपर्ने अवस्था छ नभए बजेट फ्रिज भएर जाने सम्भावना पनि छ ।
    उक्त रकममध्ये प्रदेश सरकारले २० लाख रुपैयाँ डीपीआरका लागि छुट्टाएर प्रस्ताव आह्वान गरेको छ । बाँकी ८० लाख रुपैयाँले अस्पतालमा ट्रस निर्माण तथा अन्य भौतिक सामग्री निर्माणमा खर्च हुने बताइएको छ ।

    विवाद कायम भइरह्यो भने ट्रमा सेन्टर अन्यत्र लैजाने सम्भावन कतिको छ ?

    हामीलाई प्राप्त सूचना हेर्ने हो भने अहिले भइरहेको विवाद समाधान नहुने हो भने प्रदेश सरकार पछि हट्ने कुरा आएका छन् । यसमा नेकपा सरकारले आफ्‍नो नेताको नाममा मंगलबारे नभए अन्यत्र जुनसुकै ठाउँमा पनि ट्रमा सेन्टर बनाउन सक्छ ।
    पछिल्लो समय नेकपाका केन्द्रीय सदस्य एवं सांसद राजेन्द्र गौतमले इटहरमा सबैलाई पायक पर्ने ठाउँ भएकाले त्यहाँ मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउनुपर्ने माग राख्दै आएका छन् । यस्तै गोठगाउँमा मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउँदा त्यहाँ मानिसहरुले आपत्ति नजनाउने प्रतिक्रिया दिएका छन् ।
    नेकपाको दुई तिहाइ सरकार भएकाले विवाद नफसीकन उसको अस्पताल बनाउने चाहने हो भने उसले मंगलबारेको विकल्पमा अन्यत्र नै ट्रमा सेन्टर बनाउने सम्भावना पनि देखिन्छ ।
    तर बुधबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका जवाफहरु दिने क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ट्रमा सेन्टर मदन भण्डारी कै नाममा स्थापना गरिने बताइसकेकाले अब यो विषय पेचिलो बनेको छ ।

    अब के हुन्छ ?

    प्रदेश सरकार पनि आफ्नो निर्णयबाट पछि नहट्ने र आन्दोलन भइरहने हो भने कुनै निष्कर्ष निस्कदैन । अहिले उर्लावारीमा नेकपा एकपट्टि र सर्वदलीय संघर्ष समिति अर्को पट्टि छन् ।
    नेकपा समर्थित स्थानीयहर अहिले मौन रहेको अवस्था छ । उर्लावारीका जनप्रतिनिधहरु पनि मौन छन् । जनमत अब स्थानीय मात्रै नभएर पार्टीगत बनिसकेको छ । नेकपाका कार्यकरता मौन बस्नु र केही स्वतन्त्र युवाहरु मात्रै आन्दोलनमा होमिएका छन् । यसले जनमत बाँडिएको छ ।
    प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कामहरु भइसकेको छ । प्रदेशसभामा यो विवाद उठिसकेको छ । सांसदहरुले कुरा उठाएका छन् । अब भनेको वार्ता र सहमति पहिलो कुरा हुन आउँछन् ।
    यो विषय समाधान गर्न् उपयुक्त माध्यम भनेकै वार्ता हो । प्रदेश सरकार पछि नहट्ने र नेकपा उर्लावारीको पनि सहमति हुँदा अस्पतालको नामाकरण प्रदेश सरकारकै योजना अनुरुप हुन्छ ।
    यस्तो अवस्थामा मध्यमार्गी उपाय निकालेर अगाडि बढ्नुपर्ने देखिन्छ । त्यो भनेको दुवैले त्याग गर्ने । यदि आन्दोलन गरिरहने हो भने प्रदेश सरकारले यो योजना गोठगाउँ वा इटहरीमा लैजाने सम्भावना पनि उत्तिकै देखिन्छ । यस्तो अवस्थामा बलले नभएर विवेकले निर्णय लिनुपर्ने स्थानीयवासीको काँधमा आएको छ ।
    दोस्रो विकल्प भनेको मंगलबारे अस्पताल नै कायम गर्न दबाब दिने वा नेकपाका नेताहरुलाई मनाउने ।
    अन्तिम विकल्प भनेको प्रदेशको योजना अनुरुपमको नाम स्वीकार गरेर ट्रमा सेन्टर मंगलबारे मै निर्माण गर्न दिनु हो । तर प्रदेश सरकारले अस्पताल नामाकरणमा विवाद नै नरहेको भन्दै मुख्यमन्त्री शेरधन राईले अस्पतालको नाम मदन भण्डारीकै नाममा हुने बताइसकेका छन् ।

    -मंगलबारे पेज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…