पुष्कर खड्का
२९ जेठ रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका एक कोरोना संक्रमित युवकलाई थप उपचारको लागि पाटन अस्पताल ल्याइएको छ ।
जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा उपचार गराइरहेका लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ का एक संक्रमित युवकको स्वास्थ्यमा सुधार नआए पछि थप उपचारका लागि पाटन अस्पताल रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
बिहिवार जिल्ला अस्पताल रामेछापले एक प्रेस विज्ञप्ति प्रकाशन गरी लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका पुरुषलाई थप उपचारका लागि पाटन अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा. आनन्द प्रसाद आचार्यले जानकारी दिनु भयो ।
आचार्यले विज्ञप्तिमा दिएको जानकारी अनुसार जिल्ला अस्पतालको आइसोलेशनमा बसेका कोरोना संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जना मध्ये लिखुतामाकोशी गाउँपालिका वडा नं ७ घर भएका २६ वर्षका पुरुषलाई आइसोलेशनमा आएकै दिनदेखी ज्वरो आएको र हालसम्म उपचार गर्दा समेत ज्वरो कम हुन नसकेपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान , पाटन अस्पतालमा रिफर गरी पठाइएको व्यहोरा जानकारी गराउदछौं भनिएको छ ।