काठमाडौं। 'ईनफ ईज ईनफ' भनेर आन्दोलनमा होमिएका युवाहरुले आफ्ना मागका बारेमा प्रष्ट पारेका छन्। देशका बिभिन्न भागमा युवाहरु स्वतस्फुर्त रुपमा सडकमा ओर्लेर प्रदर्शन गर्दै सरकारसँग प्रश्न गरिरहेका छन्।
उनका केहि मागहरु पनि रहेका छन्। विश्व कोरोना महामारीले आक्रान्त रहेको समयमा युवाहरु सडकमा ओर्लिंदा केहि पर्श्नहरु पनि तेर्सिएका थिए। उनीहरुले सामाजिक दुरीको पालन गरेर प्रदर्शन गरेका थिए। केहि ठाउँमा प्रहरीले बल प्रयोग गर्दा सामाजिक दुरी कायम हुन नसकेको देखिएको थियो।
ति युवाहरुले अति भयो! सरकारसँग हाम्रा यी माग छन्! भनेर आफ्ना मा सार्वजनिक गरेका छन्।
१) सबै खतरामा भएकालाई, लक्षणहरू देखिए वा नदेखिए पनि, तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराइयोस्। यसमा निम्न व्यक्तिहरू पर्दछन्:
अ. भारतबाट नेपाल फर्किरहेका सबै व्यक्तिहरू
आ. खाडी मुलुक र अरू ठाउँहरूबाट हवाईमार्ग वा जमिन हुँदै नेपाल फर्किरहेका सबै व्यक्तिहरू
इ. कोभिड-१९ संक्रमित भएका व्यक्तिहरूका सम्पर्कमा आएका व्यक्तिहरू
ई. सम्पूर्ण स्वास्थ्य सेवाकर्मीहरू, अत्यावश्यक सेवाकर्मीहरू, र खतरामा हुने अरू सबै (नियमित रूपमा परीक्षण गराउनुपर्ने समूह)
उ. श्वासप्रश्वास सम्बन्धी रोगको लक्षणहरू देखापरेका वा ज्वरो र स्वाद/गन्ध हराएको जस्ता कुनै पनि कोभिड-१९ को लक्षण देखापरेका व्यक्तिहरू
ऊ. चिकित्सकीय सुझाव अनुसार पीसीआर परीक्षण गराइनुपर्ने अरू सबै व्यक्तिहरू
२) खतरामा भएका सबैलाई यस चार-तहको त्रियाज विधि अपनाइयोस्
आगन्तुक यात्रुहरूलाई आगमनमै र सकेसम्म छिटो पीसीआर परीक्षण गरियोस्।
अ. सम्भव भएसम्म घरमै सुरक्षित तरिकाले सेल्फ क्वारेन्टाइन: कमसेकम १४ दिनको अवधिभर, आफूमा देखिन सक्ने लक्षणहरू सबै जाँच्दै स्थानीय सरकारले गरेको सुझावाअनुसारको आइसोलेसन विधि पालना गर्ने
आ. सुरक्षित रूपमा सामूहिक क्वारेन्टाइन: कोठाको कमी, दुर्गम क्षेत्र भएर, सुरक्षा वा पारिवारिक कारणहरूले गर्दा घरमै सेल्फ क्वारेन्टाइन गर्न नसक्नुहुने व्यक्तिहरूका लागि स्थानीय सरकारले व्यवस्था गरेको सामूहिक क्वारेन्टाइन केन्द्रमा बस्ने
इ. स्वास्थ्य प्रबन्ध भएका सामूहिक आइसोलेसन केन्द्रहरू: कोभिड-१९ को संक्रमण भएका तर गम्भीर लक्षणहरू देखा नपरेका सबै बिरामीहरूका लागि यी आइसोलेसन केन्द्रहरूको प्रबन्ध हुनुपर्दछ। यस्ता केन्द्रहरू कोभिड-१९को उपचारका लागि प्रबन्ध गरिएका अस्पतालका नजिक हुनुपर्दछ।
ई. अस्पतालमा उच्च स्तरको उपचार: स्वास्थ्य सेवा आवश्यक भएका कोभिड-१९ संक्रमित बिरामीहरूलाई अस्पतालभित्र उच्च स्तरको उपचार उपलब्ध गराइनुपर्दछ।
३) अग्रपंक्तिमा भएका स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइयोस्
अ. आवश्यक पर्ने सबैलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराइयोस्
आ. बाहलमा बस्ने सबैलाई चाहिएको सुरक्षित आवास, तथा कानूनी सुरक्षा उपलब्ध गराइयोस्
इ. स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई गरिने भेदभाव र दुर्व्यवहारका विरुद्ध कानूनी मान्यता भएको शून्य शहिष्णुता निति अपनाइयोस्
ई. कोभिड-१९ का बिरामीहरूको सेवा गर्दागर्दै मृत्यु वा अपङ्गता भएको खण्डमा ती स्वास्थ्यकर्मी र परिवारलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था गरियोस्
४) कोभिड-१९ को आशंका भएका वा कोभिड-१९ संक्रमित कसैलाई पनि गरिने भेदभाव र दुर्व्यवहारका विरुद्ध कानूनी आरक्षण उपलब्ध गराइयोस्
५) दैनिक ज्याला मजदूर, विदेशबाट फर्किरहेका प्रवासी नेपाली र सबै कम आय भएका र सीमान्तकृत समुदायका लागि आत्मसम्मानपूर्वक व्यवहार र राहत सामग्रीको प्रबन्ध निश्चित गरियोस्
अ. सुरक्षित खाना, पानी, बास र यात्रा पाउनुपर्ने उहाँहरूको आधारभूत आवश्यक्ताहरू पूरा गरियोस्
आ. महिला, बालबालिका र अरू सुरक्षा जरुरी पर्ने समूहलाई सुरक्षा दिइयोस्
६) बजेट निर्धारण र खर्चलगायत कोभिड व्यवस्थापनको बारे जनतालाई जानकारी गराइरहेर पारदर्शिता र जिम्मेवारीको प्रण गरियोस्