पुष्कर खड्का
३२ जेठ,रामेछाप – रामेछापमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
भारत लगायत विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका लिखुतामाकोशी गाउँपालिकाका एक जना र मन्थली नगरपालिकाका एक जना गरी दुई जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताउनु भयो ।
कर्णले दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिकाका वडा नं ४ सालुका १९ वर्ष र लिखुतामाकोशी गाउँपालिकाका वडा नं ३ बिजुलीकोटका २९ वर्षका पुरुष रहेको जानकारी दिनु भयो ।
यसअघि यही जेठ २३ गते शुक्रबार एकैदिन रामेछापको लिखु तामाकोसी गाउँपालिका र गोकुलंगा गाउँपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित १६ जनाको जिल्ला अस्पताल रामेछाप र एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । यसअघि शसस्त्र प्रहरी जवान हाल भक्तपुरमा बसोबास गर्ने एक पुरुष र खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको थियो । दुवै जना उपचारपछि स्वास्थ्य भएर घर फर्किसकेका छन् ।