४ असार, काठमाडौं । कोरोना प्रकोपको महामारीमा पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण कार्यक्रमबीच प्रेस सेन्टर नेपालले संगठनको काठमाडौं जिल्ला भेला समेत सम्पन्न गरेको छ ।
सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गत शनिवार सम्पन्न उक्त भेलाबाट जनपत्रकार प्रविन लिम्बुको अध्यक्षतामा प्रेस सेन्टर नेपालको ३५ सदस्यीय काठमाडौं जिल्ला समिति निर्वाचित भएको हो ।
कोरोना नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल तथा पत्रकारलाई सुरक्षा सामाग्री वितरणको कार्यक्रम सकिए लगत्तै प्रेस सेन्टर नेपालले सहभागि जनपत्रकारहरुको संयुक्त भेलाबाट कमिटि निर्माणबारे प्रस्ताव ल्याएको थियो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले आम श्रमजीवि तथा जनपक्षीय पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा निरन्तर आफ्नो संगठनले संघर्षको नेतृत्व गरिरहेको भन्दै सबै क्षेत्रमा रहेका, हरेक विधामा कलम चलाउने पत्रकारहरुलाई संगठनमा आवद्ध हुन आह्वान गरेका थिए ।
अध्यक्ष जैसीले संगठन हरेक पत्रकारहरुको लागि समस्याको विकल्प हुने र तमाम विषयवस्तुको बारेमा छलफलका माध्यमबाट निकास निकाल्ने साझाँ थलो भएको भन्दै संगठनको नेतृत्व बिना सामाजिक रुपमान्तरणको अभियानमा कलमजिविहरुको प्रयास अपुरो हुने भन्दै पत्रकारीता क्षेत्रका समस्या, भविष्य र सम्भावनाको लागि प्रेस सेन्टर नेपालले प्रसस्त छलफल सहित अघि बढ्न चाहेको बताए ।
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव कणजीत बुढाथोकीले पत्रकारीता क्षेत्रका समस्यामा राज्य मौन देखिनु विडम्बनाको विषय भएको बताए । उनले राज्यको चौथो तथा महत्वपूर्ण अंगको रुपमा रहेको पत्रकारीता जगतलाई राज्यले उचित स्थान दिन नसक्दा सञ्चारक्षेत्र समेत आन्दोलित बन्नुपर्ने अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गरे ।
उनले अधिकार मागेर नपाइने भन्दै हरेक पत्रकारले आफ्नो हक, अधिकार र स्वतन्त्रता राज्यसँग लडेर प्राप्त गर्नेबारे तयारी गर्नुपर्ने र त्यसको पहलकदमी गर्नका लागि श्रमजिवि पत्रकारहरुको संगठनमा आवद्ध हुन आवश्यक हुने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालको प्रदेश तीनका अध्यक्ष सुमन वाङ्देल, प्रदेश सचिव अरुणा मानन्धर लगाएतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागि करिब तीन दर्जनभन्दा बढी पत्रकारहरुको बिचमा संगठन निर्माणबारे प्रस्तावमा घनिभूत छलफल चलेपछि संगठनको प्रस्ताव गरिएको थियो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले गरेको संगठनको संख्या र नेतृत्वको प्रस्तावमा सहभागि पत्रकारहरुले तालिले समर्थन र सुझाव दिदै पाश गरेका थिए ।
उक्त निर्वाचित कमिटिको सचिवमा सञ्चारकर्मि रेसु राई, सदस्यहरुमा मिलन कार्की, नरेन्द्र रौले, रोसन तामाङ, रजिन राई, मिलन चाम्लिङ, गंगा थापा, थम थापा, चित्रकुमार कार्की, सिमसल राई, सम्पदा योङहाङ, रितुराज लिम्बु लगायत रहेका छन ।
कार्यक्रममा सहभागि पत्रकारहरुले जोखिमको समयमा समेत फिल्डमा रहेर सत्य समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई राज्यले सुरक्षा उपकरण, पत्रकारको सुरक्षाको ग्यारेन्टी नगरेको प्रति आक्रोश ब्यक्त गदै प्रेस सेन्टरले प्रेस ज्याकेट, माक्स, पञ्जा लगाएतका सामाग्री वितरण गरेकोमा खुशी व्यक्त गरेका थिए ।