युबराज रेग्मी
असार ७ /
आज बर्सकै लामो दिनहो साथै आजै पृथ्वीमा सुर्य ग्रहण लाग्दैछ असारका दिन लामा र पुसका दिन छोटा हुन्छन् भन्दा कुनै आर्श्चर्य मान्नुपर्दैन।
लामो दिनको अर्थ उज्यालो रहने समयावधि हो। हरेक दिन सूयोर्दय र सूर्यास्त केही न केही सेकेण्डले समय फरक हुन्छ। उदाहरणको लागि पुसको १ गते सूयोर्दय ६.४९ बजे हुन्छ भने असार १ गते सूयोर्दय ५.१० बजे हुन्छ।
विस्तारै समय सर्दै गएकोले सूयोर्दयमा अन्तर (१ घण्टा ३९ मिनेट) आएको हो। त्यसरी नै सूर्यास्त अर्थात् घाम डुब्ने समय पनि फरक फरक समयमा हुन्छ। सूयोर्दय भएदेखि सूर्यास्त नभइञ्जेलसम्मको उज्यालो रहने अवधिलाई ज्योतिषशास्त्रमा दिनमान भनिन्छ। असार १ गतेको दिनमान १३ घण्टा ४९ मिनेट ४८ सेकेण्ड -३४घडी ३४ पला) छ अर्थात् यो भन्नुको अर्थ १३ घण्टा ४९ मिनेट ४८ सेकेण्ड दिनभर उज्यालो रहने समय हो। त्यस दिन अँध्यारो रहने समय भने १० घण्टा १० मिनेट १२ सेकेण्ड (२५ घडी २६ पला) हुन्छ। अँध्यारो रहने अवधिलाई रात्रिमान भनिन्छ। असारको १ गते रातभन्दा दिन ३ घण्टा ३९ मिनेट ३६ सेकेण्डले दिन लामो हुन्छ।
दिन लामा र छोटामा २ कुरामा ख्याल राख्नु पर्दछ। त्यस दिन भएको १) सूयोर्दय र, २) सूर्यास्त। यी दुर्इ बीचको अन्तर नै दिनमान हो। पञ्चाङ्गमा हरेक दिनको सूयोर्दय र सूर्यास्त नै उल्लेख गरिएको हुन्छ। नेपाल, भारतको पञ्चाङ्ग अन्य मुलुकको भन्दा केही मात्र फरक छ। जस्तो कि अन्य मुलुकमा वार परिवर्तन रातको १२ बजेपछि मात्र अको बारको नाम लिइन्छ भने ज्योतिषीय दृष्टिले वार भोलिपल्ट बिहान सूयोर्दय भएपछि मात्र परिवर्तन हुन्छ, जस्तो कि दिनमा आइतवार थियो भने भोलिपल्ट बिहान सूयोर्दय ५ बजे १० मिनेट जाँदा भएको छ भने त्यसपछि मात्र सोमवार हुन्छ। अन्य मुलुकमाझैं १२ बजे वार वा गते नै परिवर्तन हुँदैन।
अंग्रेजी क्यालेन्डर अनुसार वर्ष दिनभरको सवैभन्दा लामो दिन जून २१ तारिख हो। यस दिनको अधिकतम समयावधि १३ घण्टा ५० मिनेट २४ सेकेण्डको हुन्छ। यो दिन प्रत्येक वर्षको असार ६/ ७ गते पर्दछ। तर नेपाली पञ्चाङ्ग अनुसार सवैभन्दा लामा दिन असार ५ गतेदेखि ९ गतेसम्म ५ दिन भएको देखिन्छ। यी दिनका समयावधि ३४ घडी ३६ सेकेण्ड हुन्छ। १३ घण्टा ५० मिनेट २४ सेकेण्ड भन्नु र ३४ घडी ३६ सेकेण्ड भन्नु एउटै हो। त्यस दिनको रात १० घण्टा ९ मिनेट ३६ सेकेण्ड हुन्छ। ज्योतिषीय भाषामा भन्दा रात्रिमान २५ घडी २४ पला हुन्छ।
वर्ष दिनको सबैभन्दा छोटो दिन भने हरेक पुसको ६ वा ७ गते पर्दछ। यस दिनको समयावधि १० घण्टा १९ मिनेट ४८ सेकेण्ड -२५ घडी ५० पला) रहेको छ भने रातको समयावधि १३ घण्टा ४० मिनेट १२ सेकेण्ड -३४ घडी १० पला) छ। हामीले के बुझ्न जरुरी छ भने वर्ष दिनको सबै दिन वा रात समान छैनन्। यसो हुनुको मुख्य कारण पृथ्वीको गति, अक्षांश, पृथ्वीको झुकाव असमान हुनु हो। घुम्ने मेचमा घुम्दै जाँदा जसरी एकैनासले घुमिदैंन, त्यसरी नै पृथ्वी सूर्यको कहिले नजिक त कहिले टाढा पर्न जान्छ। पृथ्वी सूर्य नजिक पर्दा पृथ्वीको गति छिटो हुन्छ। टाढा हुँदा गति ढिलो हुन्छ। तसर्थ यस अवस्थामा पृथ्वी असारमा एकदमै टाढा पर्न जान्छ यस अवस्थामा पृथ्वीको गति ढिलो भएको कारणले गर्दा नै दिन लामो र चको घाम पनि हुन्छ। तर यसको विपरीत पुस महिनामा पृथ्वीको गति तीव्र रुपमा हुने भएकोले गर्दा दिन छोटो र मधुरो प्रकाश हुन्छ।
पुसको ६/७ गतेदेखि असारको ६/७ गतेसम्म पूर्वतिर सूर्य हेर्दा क्रमशः उत्तरतर्फ सर्दै गएको पाइन्छ। सूर्य उत्तरतिर सर्ने समयावधिलाई उत्तरायण भनिन्छ। यस अवधिमा देवताहरु उठ्छन् भनिएकोले पूजाआज गर्ने गरिन्छ। मनुस्मृतिमा भनिएको छ, अहोरात्रे विभाजने सूर्यो मानुषदैविके। रात्रिः स्वप्नाय भूतानां चेष्टायै कर्मणामहः अर्थात् देवता र मनुष्यको अहोरात्र -दिन र रात) लाई सूर्यले विभाजन गर्दछन्। जीवहरुको सुत्ने समय रात हो भने काम गर्ने समय दिन हो।
लामाछोटा दिनको सीधा सम्बन्ध यही सूर्य ग्रहसित छ। पूरा एक वर्षमा पृथ्वीले सूर्यलाई एक फन्को मार्दछ। ३ सय ६५ दिनमा पूरा एक फन्को मार्दा हरेक दिन अर्थात् २४ घन्टामा दिनरात सहितको चक्कर हुन्छ। सूर्यलाई बीचमा पारेर अन्य ग्रहहरुले पनि घुमेका हुन्छन्। तर पृथ्वीले सूर्यको चक्कर लगाउने क्रममा आफू पनि घुम्दै अघि बढ्दै जान्छ।
कुनै स्थानको उचाइ, अक्षांश, देशान्तरले पनि दिनमानमा फरक ल्याउछ। नेपाल भूमध्यरेखाबाट केही पर उत्तरी क्षेत्रतिर छ। बालीनालीको उत्पादन लामाछोटा दिनको आधारमा पनि हुने गर्दछन्। उदाहरणका लागि धान लामा दिन भएको बेलामा मात्र रोपिन्छ। गहुँ, तोरी छोटा दिनमा रोपिन्छ। वनस्पतिशास्त्रमा लामा दिन र छोटा दिनमा हुने बोटबिरुवा निकै नै छन्। दिनको लम्बाइको आधारमा ऋतु परिवर्तनको निर्धारण पनि हुन्छ। लामा दिन गर्मीका संंकेत हुन्। छोटा दिन जाडोका। सेप्टेम्बर २३ र मार्च २१ मा दिन र रात बराबर हुन्छ। ग्रीष्म, वर्षा ऋतुका समयावधि लामा हुन्छन तर हेमन्त, शिशिर ऋतुका छोटा दिनका हुन्छन्।
जन्मदेखि मृत्यु पर्यन्त मानव जीवन संस्कारमा भिजेको हुन्छ। सालनाल काट्ने, न्वारन गर्ने, भात खुवाउने, व्रतबन्ध, विवाह आदि सवै संस्कारभित्रका कुरा हुन्। जातिजातिपिच्छे कर्महरु फरक हुन्छ तर काम भइरहेकै हुन्छ। वास्तविकता नबुझे पनि आमाबाबुले गरेका कर्महरु छोराछोरीले पछ्याइ रहेका हुन्छन्। बाबुआमामा भएका केही न केही गुणहरु शारीरिक होऊन, या मानसिक आफ्ना प्रत्येक सन्ततिमा सर्दै जान्छन्। यसलाई वंशाणुगत प्रसारण भनिन्छ। वंशैपिच्छे फैलदै जाने हुनाले यसलाई जननविज्ञान अर्थात् जेनेटिक्स भनिन्छ। यसको ज्योतिषविज्ञानसित पनि अन्तर सम्बन्ध देखिन्छ।
दिन र रात हरेक जीवात्माका लागि महत्त्वपूर्ण हुन्छ। उज्यालोपछि अँध्यारो नहुने प्रक्रिया हुने हो भने जीवन रहन कठिन हुन्छ। यो प्राणीहरुमा मात्र नभई बोटबिरुवामा पनि लागू हुन्छ। बोटबिरुवाले आफूलाई आवश्यक पर्ने खानेकुरा पातमा भएको हरितकणमा आफैंले बनाउँछन्। तर यो खाना बनाउने प्रक्रिया त्यति सजिलो छैन। दिनमा सूर्यको किरणको उपस्थितिमा केही अक्सिजन र कोइन्जाइम निर्माण गर्दछ भने रातमा कार्वन डाइअक्साइडको प्रयोगले खाना (काबोर्हाइड्रेड) बनाउन मद्दत गर्दछ। खाना बनाउने प्रक्रियालाई वनस्पतिशास्त्रमा फोटोसिन्थेसिस भनिन्छ।
खेतीपाती लगाउने र उत्पादन गर्ने कुरा प्रकाशसित सम्बन्धित छ। विज्ञान तथा प्रविधिको विकाससँगै जाडो गर्मीलाई थाह नदिने कोठैभित्र एअर कन्डिसन, वेमौसका तथा मौसमका फलफूल तथा जडीबुटीहरु प्रकाश, तापक्रम, आद्रता आदिमा भर पर्दछ। लामा दिन -उज्यालो)का प्रभाव वनस्पतिदेखि जीवहरुमा निकै प्रभाव पर्दछ। त्यसरी नै अँध्यारोको प्रभाव पनि त्यस्तै प्रकारको छ। दिनभर काम गरेपछि थकावट मेट्नको लागि होस् या दिनको उज्यालो -प्रकाश) असरबाट मुक्ति लिन होस्, दिन-रातको उत्तिकै महत्त्व छ। दिन-रात गराउने पिण्ड सूर्य हो। यो आकाशीय पिण्डले पृथ्वी समस्त चराचर जगत र प्राणीलाई पाल्दै आएको छ। तसर्थ हामीले प्रत्यक्षः भोग्दै र देख्दै आएको पिण्ड सूर्य र चन्द्रमा हुन्। सूर्य दिनमा देखिन्छ भने चन्द्रमा रातमा। ज्योतिषीय सिद्धान्तअनुसार यी दुवै ग्रहको उच्च रहेको छ। यी ग्रहको आधारमा शारीरिक र मानसिक विकास हुन्छ भन्ने मान्यता छ। त्यसैले सूर्यलाई पिताकारक ग्रह मानिन्छ भने चन्द्रमालाई माताकारक ग्रह। परिवारमा बाबुआमाले जेजस्तो भूमिका खेल्दछन्, यी ग्रहले पनि त्यही भूमिका निर्वाह गर्दछन्।
आज लाग्ने सूर्यग्रहण नेपालमा बिहान १०ः५५ देखि शुरू भई दिउँसो २ः२४ समाप्त हुने छ ।
मध्याह्न १२ः०४ बजे सूर्यलाई करीब ८८ प्रतिशत ढाकेको देखिने छ । ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ ।आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ ।
ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले बताए । चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।
आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ । ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो ।
ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन । ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसदिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुने खगोलविद् आचार्यले बताए । धर्मशास्त्रअनुसार सूर्यग्रहण मेष, सिंह, कन्या एवं मकर राशि भएका मानिसले मात्र हेर्न हुने समितिका सदस्य सचिव तथा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।वैज्ञानिक मतमा भने सूर्यग्रहण जो सुकैले सुरक्षित तरिका अपनाएर हेर्न हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई बताउछन् ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो । खगोलविद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् । साना बालबालिकाका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छन् । नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिन्छ ।