प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैवाहिक अंगिकृत नागरिकताका विषयमा फरक मत राख्ने भएको छ। आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक पारित गर्ने गरी प्रस्ताव हुन आए ‘नोट अफ डिसेन्ट’ लेख्न कांग्रेसले समितिका सदस्य रहेका कांग्रेस सांसदलाई निर्देशन दिएको हो।
आइतबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने समिति बैठकमा नागरिकता विधेयकबारे छलफल हुँदैछ। एक वर्षदेखि समितिमा रोकिएको विधेयक संसदमा पठाउने गृहकार्य हुँदैछ। कांग्रेसले वैवाहिक अंगिकृत नागरिकताबारे पार्टीको आधिकारिक धारणा बनाउन आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेको थियो।
उक्त बैठकले अहिले चलिआएकै व्यवस्थालाई निरन्तरता दिइनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि उपसभापति विमलेन्द्र निधिले कुराकानी गर्दै सत्तारूढ नेकपाले निर्णय गरेजस्तो सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने विषय कांग्रेसलाई मान्य छैन।
उनले अहिलेसम्म वैवाहिक अंगिकृत नागरिकताबारे जे कानुन छ त्यही रहनुपर्छ भन्ने कांग्रेसको अडान रहेको बताए।
सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकले नेपाली पुरूष नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई विदेशको नागरिकता त्याग गरेको प्रमाण पेश गरेको सात वर्षपछि नेपाली नागरिकता दिन उपर्युक्त हुने निर्णय गरेको थियो। नेकपाकै एक नेताले भने एक हातमा सिन्दुर एक हातमा नागरिकता दिने कांग्रेसको सपना हो भने त्यो पुरा हुदैन ।