बुटवल,असार १३ गते । नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार बुटवलस्थित नेपाली सेनाको ब्यारेकमा एकै साथ सलह जस्तै धेरै कीरा देखिए ।
सेनाले कृषि बिज्ञहरुलाई खबर गरेपछि त्यसबारे अनुसन्धान गरिरहेका बेला स्थानीय आतंकित हुने गरी बुटवलको आकासमा लाखौंको संख्यामा एकसाथ कीराहरु उड्न थाले । ती कीराहरु पश्चिम तराई र पहाडी क्षेत्रमा उडिरहेका थिए ।
रुपन्देहीका कतिपय स्थानहरुमा स्थानीयले थाल ठटाएर र हल्ला गरेर किरा भएका थिए । तर बुटवल लगायतका कयौं स्थानका रुख र कृषियोग्य जमिनमा कीराहरु बसे ।
प्रदेश ५ को कृषि विकास निर्देशनालयका प्रमुख यम नारायण देबकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएको कीरा सलह नै हो । सलह कीरा भेटिएपछि अव कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश ५ सरकारले आन्तरिक गृहकार्य थाल्दै तत्काल बैठक बसिरहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुरुमा सेनाको ब्यारेकमा ठूलो संख्यामा सलह जस्तै किरा देखिएपछि सेनाले नियन्त्रण प्रयास गरेको बताउनु भयो ।