काठमाडौँ, असार १४ गते । नेपालको कम्युनिस्ट आन्दोलनको लोकप्रियता र लोकतान्त्रीकरणको नायकका रूपमा मदन भण्डारीको नाम लिइन्छ । विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय, ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीलाई नै जान्छ । हो, त्यहीबेला विश्वप्रसिद्ध ‘न्युजविक’ ले लेख्यो : नेपालमा जन्मिए माक्र्स ।
मध्यमा सम्मको शिक्षापछि थप अध्ययन गर्न मदन भण्डारी भारतको वृन्दावन पुग्नुभयो । त्यही क्रममा पुष्पलाल समूहको सांस्कृतिक मोर्चाको जिम्मेवारी लिनुभएका मोदनाथ प्रश्रितसँग भेट भयो भण्डारीको । वरिष्ठ वामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले उहाँले मेरा कृति पनि पढ्नुभएको रहेछ । मलाई भेट्न आउनुभएको थियो, वनारस । सायद २०२७÷२८ तिर होला । त्यो बेला उहाँले मलाई पाण्डुलिपि हेरिदिनूस् भनेर दिनुभएको थियो भन्नुभयो ।
उहाँले उहाँका केही रचना हेरेँ, वाम झुकावको पाएँ । त्यही बेला पुष्पलालले मलाई सांस्कृतिक मोर्चा निर्माणको जिम्मेवारी दिनुभएकाले सांस्कृतिक गोष्ठी पनि थियो । त्यही क्रममा मदनले एउटा मीठो गीत सुनाउनुभयो भनेर उहाँलाई सम्झनुभयो ।
साहित्यकार प्रश्रितमा ती दिनका धमिला सम्झना मात्र बाँकी छन् । उहाँ सम्झने प्रयत्न गर्नुहुन्छ, ‘ए मेरी बाटुलीका बुबा नमस्ते’ यस्तै बोलको थियो त्यो गीत । उन्नत स्तरको चेतना थियो । राजनीतिमा प्रत्यक्ष जोडिन नचाहे पनि सांस्कृतिक एवं साहित्यिक गतिविधिमा मदन जोडिनुभयो । कलेज बिदामा मदन घरतिर लाग्नुभयो । त्यहीबेला मोदनाथ प्रश्रित मदनको घर खोज्दै मोरङ जानुभयो । त्यस पछिका दिनमा पटकपटक प्रश्रित मदनको घर जानुभयो । एकपटक जीवराज आश्रितसहित प्रश्रित मदनको घर पुग्नुभयो । त्यो बेला मदनलाई राजनीतिक गतिविधिमा सक्रिय हुन आश्रित–प्रश्रितले आग्रह गर्दा, बुबाले जेठो छोरो जोगी बनेर हिँड्यो, लालाबाला धेरै छन् । यसैले घर हेर्नुपर्छ भन्नुभयो ।
मदन भण्डारीको अध्ययनशील, राजनीतिक चेतना र सामाजिक गतिविधिमा राखेको चासोले गर्दा स्थानीय साथीले पनि राजनीतिमा लाग्न प्रेरणा दिएका थिए । प्रश्रितले राजनीतिमा लाग्न स्थानीय साथीले पनि प्रेरित गरे । मैले पनि राजनीतिमा ल्याउन धेरै प्रयत्न गरेकै हुँ भन्नुभयो ।
बिस्तारै मदन भण्डारीले राजनीतिमा ध्यान दिन थाल्नुभयो । पुष्पलाल समूूहको केन्द्रीय समिति बैठकमा आमन्त्रण गरियो । प्रश्रित मदनसँग भेट भएको करिब डेढ वर्षपछि केन्द्रीय समिति बैठकमा बोलाइएको हो । त्यही बैठकले केन्द्रीय सदस्यमा राख्यो भनेर सम्झनुहुन्छ ।
पुष्पलाल समूहबाट विद्रोह गरेर जीवराज आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रित लगायतले मुक्ति मोर्चा समूूह बनाउनुभएको थियो । त्यो समूूहसँग पार्टी एकताको प्रस्ताव लिएर कोअर्डिनेसन केन्द्रका तर्फबाट प्रदीप नेपाल वनारस पुग्नुभएको थियो । नेता नेपालका अनुसार यो २०२४ साल वैशाखमा घटना हो ।
२०३४ को भदौमा पार्टी एकता भयो । त्यस पछिका दिनमा मदन भण्डारीले पार्टीमा बिछट्टै विकास गरेको अनुभव नेता नेपालको छ । उहाँको अध्ययन र बुझाइमा मदन भण्डारी उच्चस्तरको शोधार्थी हुनुहुन्थ्यो । दार्शनिक चेत राख्ने । इतिहासको गहिरो अध्ययनसहित समस्या समाधानको बाटो पहिल्याउने । नेपाली राजनीतिमा चामत्कारिक ढङ्गले उदाउनुभएका मदनको भाषणमा जादुकला थियो । उखान टुक्का, लोककथा र वाक्पटुतापूर्ण भाषणकलाले युवा मन मस्तिष्कमा गहिरो छाप छाड्न सफल हुनुहुन्थ्यो ।
‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्नुहुने मदन भण्डरीले राजनीतिक दौडधूपकै क्रममा मृत्युवरण गर्न पुग्नुभयो । जसको मृत्युमा यसरी साहित्य पोखियो,
एउटा मानिस मर्दा
उसकी पत्नी विधवा हुन्छे
एउटा देशभक्त मर्दा
सिङ्गै देश विधवा हुन्छ ।
२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनुभएका मदन भण्डारीको त्रिशूलीमा भएको रहस्यमय जिप दुर्घटनामा २०५० साल जेठ ३ गते अस्वाभाविक मृत्युवरण गर्न पुग्नुभयो । यद्यपि नेपाली राजनीतिमा मदन भण्डारीको स्मरण
पुस्तापुस्ताले गरिनैरहनेछ ।