• काठमाडौं । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिएको टक्करका दुई सारथि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमवारको एक्लाएक्लै छलफल गरे । उनीहरुबीचको छलफल सकारात्मक भएको र प्रधानमन्त्री ओली केहि लचिलो भएको बुझिएको छ ।

    ओली आफ्नो अडानमा केहि लचिलो देखिएपछि छलफलले सकारात्मक मोड लिएको हो । स्थायी कमिटि बैठकबाट सुरु भएको नेकपा विवाद सो बैठकलाई सारेर समाधानको प्रयास भइरहेको छ । प्रधानमन्त्रीको राजीनामा मागिएको उक्त बैठक पछि सर्दै जानुलाई प्रधानमन्त्री निकट नेताहरूले नेकपाभित्र अस्थायी युद्धविरामको रूपमा लिएका छन् । ‘यो अस्थायी युद्धविराम हो, युद्धविरामलाई राम्रो ढङ्ले व्यवस्थापन गर्दा शान्ति-एकता‍तिर पनि जानसक्,’ एक नेताले भने ।

    योसँगै छलफलको ढाँचा पछि फेरिएको छ । ओली-दाहाल वार्तामा आफूनिकट दोस्रो तहका नेता मात्र संलग्न गराएपछि वरिष्ठ नेता माधव नेपाल र उनको समूह असन्तुष्ट बनेको छ । नेपालको असन्तुष्टि र आशंकापछि ओली र प्रचण्डले सोमबारबाट दोस्रो तहका नेताहरूविनै छलफल अघि बढाउने समझदारी गरेका छन् ।

    आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका उनीहरूले छलफलको गम्भीरताका कारण सहयोगी नेताहरूलाई तत्काल सामेल नगर्ने निर्णय गरेका हुन् ।

    पौडेल र पोखरेल ओली तथा शर्मा र पुन प्रचण्डनिकट नेताहरू हुन् । यसअघि उनीहरूलाई राखेर सहमतिको गृहकार्य गर्न अनौपचारिक कार्यदल बनाइएको बताइए पनि नेपालको असन्तुष्टिपछि त्यस्तो कार्यदल नबनेको भन्दै प्रचण्डको सचिवालयले आइतबार राति खण्डन गरेको थियो ।

    दुईजना मात्र लिएर जाने कुरा सन्तुलित नभएको भन्दै नेपालले आइतबार नै प्रचण्डसँग आपत्ति जनाएका थिए । पहिले जस्तै दुई अध्यक्षबीच सहमति भएमा आफूहरु पेलानमा पर्ने भन्दै नेपाल समूहले वार्तामा वरिष्ठ नेताहरुलाई पनि राखिनुपर्ने बताएको छ ।

    ओली र प्रचण्डबीच आज पनि छलफल
    सत्तारुढ नेकपाको विवाद समाधानका लागि आज पुनः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । अध्यक्षद्वयको छलफलको समय भने निर्धारण भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो । ओली र प्रचण्डबीच भएको वान टु वान वार्ता सकारात्मक भए पनि बिना निष्कर्ष टुंगिएको थियो ।

    विवाद उत्कर्षमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् । आज र भोलीसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लाग्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…