२०७७ असार २६
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अहिलेकै अवस्थामा सार्वजनकि गाडी चलाउन नसकिने बताएको छ ।
सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै महासङ्घले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो ।
महासङ्घको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ ।
लकडाउनको १ सय १० दिनसम्म पार्किङमा रहेका गाडी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने अवस्था भएकाेले पुनर्कर्जाकाे व्यवस्था गर्नुपर्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बीमा गर्नुपर्ने समेत उनकाे भनाई छ ।
भाडा बढाएर गाडी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाेले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने उनले बताए ।
सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि सरकारले गरेको थियो ।