• असार २७, २०७७ 
    अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २४ वैशाखबाट कमान्ड सम्हाले ।

    पूर्व कार्यरत रहँदा वा सिआईबीमा रहँदा विभिन्न अप्रेसनको लागि पूर्व आउँदा खुल्ला सिमाना कारण सुनसरीमा हुने लागुऔषधको कारोबार प्रति थापा राम्रो सित जानकार थिए ।

    सुनसरी आउन साथ थापाले पहिलो प्राथमिकतामा भारतीय सीमाबाट भित्रने लागुऔषधको ‘मेन नेक्सस’ तोड्ने योजना बनाए ।

    थापा सुनसरी आएको दुई महिना बितिसकेको थियो । यो बिचमा साना तिना लागुऔषध प्रयोगकर्तादेखि कारोबारी धमाधम पक्राउ परिरहेका थिए । तर थापालाई भइरहेको काम प्रति चित्त बुझिरहेको थिएन ।

    केही ‘ठुलै गर्ने’ योजना बनाएका थापाले सुनसरीमा लागुऔषध कारोबार गर्ने सबैको लिस्ट बोकेर बसेका थिए । थापाको लिस्टमा भारतमा बसेर नेपाल भित्र लागुऔषध छिराउने भारतीयदेखि सुनसरी जिल्लाका विभिन्न नाकाबाट लागुऔषध नेपाल भित्राउने कारोबारीको लिस्ट उनीसँग थियो ।

    त्यो लिस्ट मध्ये एउटा नाम थियो, कोसी गाउँपालिका ४ लौकही बस्ने २९ वर्षीय पंकज यादव । पंकज भारतका विभिन्न डिलरबाट ठुलो परिमाणमा लागुऔषध मगाई सुनसरीदेखि उदयपुर, धनकुटा, मोरङ, झापा र इलामसम्म खुद्रा कारोबारीलाई बिक्री वितरण गर्ने मुख्य ‘नाइके’ हुन् ।

    पंकजले लकडाउन अवधिभरि मात्र करिब १२ लाख बढीको विभिन्न प्रकारका लागुऔषध नेपाल भित्राएको प्रहरीलाई सूचना थियो । लकडाउन भएदेखि पंकजको गतिविधि सीमा क्षेत्रमा बढेको र नयाँ नयाँ ठाउँमा कोठा भाडा लिएर लागुऔषध ‘स्टक’ गदै हिँडेको प्रहरी उपरीक्षक थापालाई सूचना थियो ।

    पक्राउको योजना
    पंकजलाई 'टप प्राइरोटी' मा राखेर पक्राउ गर्ने योजनाको साथ प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा २० असारमा थापाले एउटा ‘अप्रेसनल टिम’ बनाउँछन् ।



    टिमले पंकजको धन्दाको विशेष ‘साझेदारी’ मानिएका कोसी गाउँपालिका ६ का सुनिल मुखियालाई पक्राउ गर्ने पहिलो योजना बनाउँछ । प्रहरी निरीक्षक खनाल सुनिल मार्फत नै पंकजलाई पक्राउ गर्ने रणनीतिमा हुन्छन् ।

    जस अनुसार २५ असारमा कोसी कटानको दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १० प ९३३२ नम्बरको पल्सर बाइकमा सवार सुनिल लागुऔषध डाईलेक्स डि.सी नामक १०० एमएल २० बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको १२ पत्तासहित पक्राउ पर्छन् ।

    सुनिल पंकजकै छत्रछायामा आफ्नै छुटै ‘नेटवर्क’ बनाएर एक वर्षदेखि लागुऔषध कारोबार गर्न थालेका थिए । पंकजसँग जोडिने सूत्र सुनिल पक्राउपछि उनलाई त्यसै दिन पक्राउ गर्ने प्रहरीको योजना प्राविधिक कारणले सफल हुँदैन ।

    निकै ‘प्रोफेसनल’ पंकज प्राय आफ्नो लोकेसन र सिम फेरिरहने भएकाले उनलाई पक्राउ गर्न खनाल नेतृत्वको टिमलाई केही चुनौती सामना गर्नु परेको थियो । तर दोस्रो दिन २६ असारमा सुनिल मार्फत पंकजलाई कारोबारको विषयमा कुरा गर्नु छ भनेर झुक्क्याएर सुनसरीकै बराहक्षेत्र ९ बाट पंकज र अर्को गोकुल भन्ने खेमबहादुर लुइँटेल पक्राउ पर्न प्रहरी निरीक्षक खनाल सफल हुन्छन् ।

    खेमबहादुर भने पंकजको लागुऔषध भण्डारण गर्न घर भाडामा दिने व्यक्ति हुन् । पंकजलाई पक्राउ गर्न सफल भएपछि खनालको टोलीले पंकजले लुकाएको ठुलो परिमाणको लागुऔषध बराहक्षेत्रस्थित आदर्श सामुदायिक वनको झाडीमा खाल्डो खनेर निकाल्छ । त्यहाँबाट प्रहरीले डाईलेक्स डि.सी १०० एमएल लेखिएको १२० बोतल, स्पास्मो प्रोक्सिभन ३ फायल गरी जम्मा १४४ वटा क्याप्सुल बरामद गर्छ ।

    भारतीय कारोबारीपनि पक्राउ
    पंकजको लागुऔषध धन्दाको साझेदारी सुनिल मुखियालाई पक्राउ गर्दा प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको थिए । पक्राउ पर्नेमा दुई जना मध्ये एक भारत सुपौल जिल्ला वीरपुर १ का राकेश कुमार मण्डल (शिव) र अर्को सुनिलका सहयोगी वीरेन्द्र मरदैता थिए ।

    भारतीय नागरिक राकेश मण्डल पंकज र सुनिललाई भारत तर्फबाट लागुऔषध सप्लाई गर्ने मेन ‘सप्लायर’ हुन् ।

    पंकज, सुनिल, राकेश, वीरेन्द्र र खेम पक्राउ परेपछि खनालको थप अनुसन्धानले बराहक्षेत्र १ बस्ने राजु शर्माको घर छेउको बारीमा गाडेको अवस्थामा डाईलेक्स डि.सी लेखिएको ८७ बोतल लागुऔषध बरामद गर्छ । शर्मा पनि पंकजकै लागुऔषध भण्डारण र बराहक्षेत्रमा सानो तिनो परिमाणमा लागुऔषध बिक्री वितरण गर्ने कार्यमा संलग्न हुन्छन् ।

    यस्तै कोसी गाउँपालिका ६ का सुनिलकुमार यादव पनि सुनिल मुखिया र पंकजको कारोबारको भरिया भएको आधारमा प्रहरी निरीक्षक सरोज खनालको टिमले पक्राउ गर्छ ।

    सुनसरीमा अहिलेसम्मकै ठुलो उपलब्धि
    तीन दिनसम्म चलेको अप्रेसनले सीमा क्षेत्रबाट नेपाल भित्रने लागुऔषधको राम्रो नेक्सस तोड्न सफल भएको प्रहरी उपरीक्षक थापा बताउँछन् ।

    पक्राउ परेका पंकज यादव विगत १२ वर्षदेखि लागुऔषध कारोबार गदै आएको प्रहरीमा रेकर्ड छ । उनले पछिल्लो पाँच महिना यता कारोबार बढाएर दोब्बर बनाएको थापाको भनाई छ ।

    अनुसन्धानको क्रममा पंकजले आफ्नो कारोबारको विवरण राख्न र पैसा उठाउन मात्र २५ जना युवा प्रत्यक्ष रूपमा काममा लगाएको देखिन्छ । उनले सुनसरीलाई आधार बनाएर इनरुवा, झुम्का, इटहरी, धरान, कोसी ब्यारेज, दुहबीमा गरी २० भन्दा बढी गोप्य स्थानमा बढी भाडाको प्रलोभन देखाई लागुऔषध भण्डारण गर्ने गरेको थापाले अपराध न्युजलाई जानकारी दिए ।

    ‘हामीले लागुऔषध कारोबारको मेन नेक्ससका मान्छे पक्राउ गर्न सफल भयौ’, उनले भने ‘यसले पूर्वको लागुऔषध कारोबारमा ठुलो प्रभाव पर्ने हाम्रो अनुमान छ’ ।

    यता सुनसरी प्रहरीको लागि यो अत्यन्त ठुलो सफलता हासिल भएको थापाको तर्क छ । पक्राउ परेका सबैलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।अपराध न्युजबाट साभार

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…