लेखक : बलदिप प्रभाश्वर चाम्लिङ,
नेता : रास्ट्रीय जनमुक्ति पार्टी नेपाल,
राजनीतिमा पहिलो शर्त हो, राजनैतिक नाभिकीय शक्तिकेन्द्रको निर्माण,यो मौलिक तथा निजी हुनुपर्छ । मधेशीहरूले पहिले आफ्नो मौलिक “राजनैतिक नाभिकीय शक्तिकेन्द्र” निर्माण गरे । स्वभाविक रूपमा त्यो नाभिकीय शक्तिकेन्द्रले “स्याटलाईट” हरू निर्माण गर्नु विज्ञान सम्मत हो । बाबुराम भट्टराईहरू र अशोक राईहरू त्यो नाभिकीय राजनैतिक शक्तिकेन्द्रका स्याटलाईट हुन् । कुनै एक नाभिकिय शक्तिकेन्द्रले आफूलाई आत्मनिर्भर बनाउँछ भने अरूलाई परनिर्भर बनाउँछ । यो नाभिकिय शक्तिको नियम हो ।
-समेट्ने सिद्धान्त (Including Theory) र समेटिने सिद्धान्त (Being Included Theory)
राजनीतिमा विशेष अर्थ राख्ने कुरा भनेको “अरूलाई समेट्ने ( to include others) ” वा “आफू अरूद्वारा समेटिने ( to be included by others) ” हुन् । राजनीतिमा अरूलाई समेट्ने हैसियत निर्माण गर्नुमा गरिमा तथा साख हुन्छ । पछिल्लो समयमा यो साख उपेन्द्र यादवहरूले कायम गरिरहेका छन् ।
सारमा, हिजो अशोक राई र उपेन्द्र यादवबीचको एकीकरण थिएन । त्यो भनेको अशोक राईहरूले उपेन्द्र यादवहरूलाई होइन, बरु उपेन्द्र यादवहरूले अशोक राईहरूलाई समेटेका थिए । अर्थात अकोश राईहरू यादवहरूमा समेटिएका (विलयी) थिए । एकीकरण त दुई समानान्तर शक्तिबीच हुन्छ । त्यो बेला अशोक राईहरूले आफ्नो मौलिक नाभिकीय शक्ति–केन्द्र निर्माण गर्न भ्याइ नसकेको अवस्था थियो । उता बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पनि एकीकरण होइन । भट्टराईहरूलाई यादवहरूले समेटेका हुन् । राजनीतिमा समेटिमाग्नेहरूको भन्दा समेट्नेहरूको हात माथि हुन्छ । समेट्नेहरू नेतृत्वमा हुन्छन् र समेटिएकाहरू नियन्त्रणमा हुन्छन् । यो राजनीतिको नियम हो ।
हिन्दुआर्यहरूले अरूलाई समेट्ने नाभिकीय राजनीति शक्ति–केन्द्र ७ सालमै निर्माण गरिसकेका थिए र त्यसको निरन्तरता आज पनि छ । राष्ट्रिय राजनीतिमा हिन्दुआर्यहरूले राणा, आदिवासी, मधेसी र दलितलाई ७ साल देखि नै समेट्दै आउन सफल भएका छन् । यसमा उनीहरूलाई जातीय संरचनागत लाभांश (structural divident) ले गर्दा पनि सजिलो भएको हो । हिन्दुआर्यले उनीहरूलाई पार्टीमा र राज्यसत्तामा समेटैकै छन् । लोकतन्त्रको आवरणलाई कायम गरेकै छन् ।
समेटिएकाहरूको हैसियत
"सम्बन्धित दलमा समेटिएकाहरूलाई देख्दा त्यहाँ विविधता तथा ईन्द्रेणीता त हुन्छ । तर समेटिएका पात्रहरू त्यहाँ प्रदर्शनको लागि चिडियाघरमा थुनेर राखिएका जनावर जस्तै हुन्छन् ।"
-समेटिएकाहरूको दशा
समेटिएकाहरू राजनीतिक न्याय (Political Justice) का भागिदार हुनसक्दैनन् । उनीहरू राजनीतिक यान्त्रकीकरण (Political Engineering) को शीकार हुन्छन् । उनीहरूलाई नेतृत्वले मनिपुलेशन (हेराफेरी) गर्दछ । पोलिटिकल ईन्जिनियरिङ भनेको त्यस्तो प्रकृया होे जहाँ नेतृत्वले आफ्नो स्वार्थको डिजाईनमा विभिन्न पात्रहरूलाई सेटिङ तथा मनिपुलेसन गर्दछ । जस्तोः सुवास नेम्बाङ, शेरधन राई, शिवमाया तुम्बाहाम्फे, नन्दकिशोर पुन, रामबहादुर थापा ईत्यादि नेतृत्वको पोलिटिकल ईन्जिनियरिङका गोटीहरू हुन् ।
उता अशोक राई समाजवादी पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । तर वहाँले चुनावमा उठ्नको लागि आफूले रोजेको सिराहा–सप्तरीका निर्वाचन क्षेत्रहरू पाउनु हुन्न । पार्टीले त्यस्ता ठाउँमा वहाँलाई टिकट दिन्न । पार्टीले चुनावमा वहाँलाई उही पहाड नै पठाउँछ । “तिमी आफ्नै ठाउँबाट जितेर आऊ” भनेर पार्टीले भन्छ । पार्टीमा राईले सरकारसत्तामा सन्तुलनको कुरा गर्नुभयो भने “तिमीले आफ्नो ठाउँबाट कहिले जितेका छौ ? ; तिम्रो मान्छेहरूलाई कतिको संख्यामा समाजवादी बनाएका छौ ?” भन्ने प्रश्नले मुखमा बुचो लागाइदिन्छ ।
अव यहाँ पोलिटिकल जष्टिसको आधारमा बुझौँ । राई पार्टीको वरिष्ठ नेता हुन् । त्यो पार्टीको नेता भइसकेपछि राईले आफ्नो संगठन भएका जुनसुकै ठाउँबाट चुनावमा उठ्न पाउनुपर्छ । यदि अशोक राईलाई मधेसीले साँचिकै नेता मानेका हुन् भने मधेशबाट चुनाव जिताएर पठाउनु पर्छ । मतदाताले पनि आफ्नै नेता हुन् भनेर हार्दिकताले स्वीकार्नु पर्दछ । यदि पहिले आफ्नै मान्छेलाई बनाउनुपर्ने, बुझाउनुपर्ने र संगठित गर्नुपर्ने हो भने समाजवादी पार्टीमा राई रहनुको के औचित्य हुन्छ र ? के वजन हुन्छ र ?
सुवास नेम्बाङ जित्नको लागि उही ईलाम मै जानुपर्ने हुन्छ । शेरधन राई जित्नको लागि भोजपुरको आफ्नै गाउँघर जानुपर्ने हुन्छ । वर्षमान पुन जित्नको लागि उही रुकुमरोल्पाका मगरहरूलाई नै गुहार गर्नुपर्ने हुन्छ । प्रकाशमान सिंह जित्नको लागि नेवार दाजुभइलाई नै गुहार माग्नुपर्ने हुन्छ । तर विद्या भण्डारी, ईश्वर पोख«ेल, माधव नेपाल, प्रचण्ड दाहालहरू जित्नको लागि भुगोल र क्षेत्रले छेक्दैनन् ।
आदिवासीहरू चुनाव लड्दा श्रीमतीका गहना र बाउबाजेको जेथामा भर पर्नुपर्ने हुन्छ तर हिन्दुआर्य चुनाव लड्दा राष्ट्रिय ढिकुटी प्रयोग हुन्छ । यदि राजनीतिमा पनि दलित तथा आदिवासीहरू आफ्नै श्रोतसाधार र आफ्नै मान्छेको भरपर्नुपर्ने र राष्ट्रिय फिगर हुन नसक्ने नै हो भने किन काँग्रेस–कम्युनिष्ट भइटोपोल्ने ? किन आफ्नै नाभिकीय राजनैतिक शक्ति निर्माण नगर्ने ?
दलित तथा आदिवासीहरू काँग्रेस–कम्युनिष्टमा लागिपर्दा दल त ठूलो बन्छ तर दलित तथा जनजातिको हैसियत सधँै सानोको सानै । धनराज गुरूङ लागेको पार्टी ठूलो छ तर धनराजको प्रभाव जिरो छ । शेरधन राई लागेको पार्टी ठूलो हो तर त्यो ठूलो पार्टीमा शेरधनको राजनीतिक भूमिका भने शुन्य नै छ । शेरधन राई व्यक्तिगत रूपले किरातप्रदेश चाहन्छन् तर उनले यो कुरालाई आफू लागेको पार्टीमा निर्णय गराउने हैसियत राख्दैनन् ।
-राजनैतिक नाभिकीय शक्तिकेन्द्रको निर्माण
साधारण मानिसले दलित तथा जनजातिले मात्र आफ्नै राजनैतिक नाभिकीय शक्तिकेन्द्र निर्माण गर्न सम्भव हुन्छ त भनेर प्रश्न गर्नसक्छ । उत्तर सम्भव छ । यसको लागि हामीले उदाहरण मधेसीहरूलाई हेर्दा काफी छ । हिजो मधेसीहरूलाई ईन्कार र हेय गर्नेहरू आज मधेसीको राजनैतिक नेतृत्वलाई स्वीकार गरेका छन्; उनीहरूको पछी लागेका छन् किनभने मधेसीहरूले आफ्नो मौलिक राजनैतिक शक्तिकेन्द्र स्थापित गरे ।
मौलिक नाभिकीय शक्तिकेन्द्र निर्माण गर्नुभनेको राज्यद्वारा पत्याइनु हो; राज्यले मान्नु हो । राज्यले पत्याएका र मान्यता दिएको शक्ति कुनै एक जाति विशेषको शक्तिमात्र हुदैन । यस्तो शक्तिले आफ्ना वरिपरि स्याटलाईटहरू निर्माण गर्छ । यदि मधेसीहरूले “हामीले मात्र केही गर्न सक्दैनौँ” भनेर काँग्रेस–कम्युनिष्टको पीछलग्गुमात्र भएर बसेको भए उनीहरूले आफ्ना मौलिक राजनैतिक नाभिकीय शक्तिकेन्द्र निर्माण गर्नसक्दैनन् थिए । यो बेला अन्य कुनै शक्तिसंग मिल्दा पनि उनीहरूको भूमिका निर्णायक नै हुन्छ ।
ठूलो हिस्सा ओगटेका दलित तथा जनजातिहरूले आफ्नो राजनैतिक नाभिकीय शक्तिकेन्द्र निर्माण गर्न सम्भव छ । सबैभन्दा पहिले यी समुदायमा चेतना र एकताको खाँचो छ । यिनीहरूको मस्तिष्कलाई उद्वेलित गराउने अविचलित समर्पित नेतृत्वपात्रको खाँचो छ । यद्यपि अबको युवापुस्ताले यो आवश्यकताको खाडल पुरा गर्ने उतिकै सम्भावनालाई आकलन गर्न सजिलो बनाएको छ । तर पहिले आफ्नो मौलिक राजनैतिक नाभिकीय शक्ति निर्माण नगरी अन्य कतै टाँसिने हो भने एक थोपा दुधलाई एक बाल्टिन पानीमा मिसाउनु जस्तै हुन्छ ।