सोमबार १२ साउन, २०७७
मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा कार्यरत प्रमुख प्रसाशकीय अधिकृत पुर्षोतम घिमिरेले कुनै निर्णय बिनै सवारी साधन
लिएपछि गाडिको बिषयमा पनि गडबडी देखिएको छ ।
पालिकाबाट मासिक भाडा बुझाउने गरि घिमिरेले कतै निर्णय बिनै भाडामा साधन लिएको बिषय कानेपोखरीमा बहस चलिरहेको छ ।
पालिकामा दुई वटा गाडी यस अघिदेखि नै चलिरहेको छ । मासिक रकम तिर्ने गरि स्कोर्पियो गाडी भाडामा लिएको थाहा पाएपछि जनप्रतिनिधि र जनतामा खुलदुली मात्र होइन जनताबाट उठेको कर यसरी आफूखुसी गर्न पाइन्छ पाइन्न बहस सुरु भएको हो ।
गाडी भाडामा लिन अधिकृत घिमिरेले सूचना प्रकाशन गरेपछि आफूहरुले थाहा पाएको कानेपोखरी गाउँपालिका उपप्रमुख राजमती इङ्नामले बताए । धेरै जना वडा अध्यक्षले त घिमिरे गाडी चढ्न थापेपछी मात्र गाउँ सरकारले अर्को गाडी ल्याएको थाहा पाए ।
गत जेठदेखि अघिकृत घिमिरे गाडिमा निवास बिराटनगर र कार्यालय कानेपोखरी आउने जाने गरिरहेका छन । तर कति समय र भाडामा लिएको हो औपचारिक कसैलाई जानकारी नभएको उपप्रमुख इङ्नामको भनाई छ ।
यस अघि प्रमुख ताराबहादुर काफ्ले, उपप्रमुख राजमति इङ्नामले पालिकाको काममा गाडी प्रयोग गर्दै आएका थिए ।
प्रमुख चढ्ने गाडी पालिकाले आफ्नै श्रोतले किनेको हो भने अर्को उपप्रमुख राजमती इङनामले कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे संग समन्वय गरेर ल्याएकी हुन ।
पालिका ५ नम्बर वडा अध्यक्ष चरण गुरुङले प्रमुख घिमिरे गाडी लिने सूचना प्रकाशन भएपछि मात्र जानकारी भएको बताए । ७ नम्बर वडा अध्यक्ष मोहनप्रसाद अधिकारीको त्यो गाडी भाडा गाउँपालिकाले थाम्न नसक्ने भएकोले आगामी बैठकले फिर्ता गर्न सक्ने बताए ।
दुबैजना वडा अध्यक्षले गाडी मासिक कति भाडामा लिएका हुन जानकारी नभएको बताए ।
नेकपा मोरङ जिल्ला सदस्य कानेपोखरी गाउँ कमिटी सचिव मनोज राजबंसीले कोरोनाको कारण श्रोत घटेको र माहामारीको बेला तेश्रो गाडि लिनु सान्दर्भिक नहुने बताए । पालिकामा दुई वटा गाडी हुँदाहुँदै अधिकृतले आफ्नो लागि गाडी लिनुले कानेपोखरी बासीमा भार बढ्ने बताए । पालिकामा दुई वटा गाडीले पुग्ने उनको भनाइ छ । विभिन्न बहानामा स्थानीय सरकारलाई कमजोर बनाउन कोहि लाग्न नहुने राजवंशीको भनाइ छ ।
प्रमुख प्रसाशकीय अधिकृत पुर्षोतम घिमिरेले भने सबैकुरा पालिकामा निर्णय गर्नु नपर्ने तर्क प्रस्तुत गर्दै स्कोर्पियो मासिक ७५ हजारमा भाडामा लिएको बताए ।