काठमाडौं, साउन १३ गते । नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा करिब पाँच हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । हाल नेपालमा कोभिड–१९ का पाँच हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।
आज थपिएका संक्रमितमध्ये उपत्यकाका ५४ जना रहेका छन् । भक्तपुर १, ललितपुरका ५ र काठमाडाैंका ४८ जना रहेका छन् । अन्य संक्रमितहरू झापा, मोरङ, ओखलढुंगा, सप्तरी, धनुषा, महोत्तरी, बारा, इलाम, पर्सा लगायतका जिल्लाका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएर घर फर्केको बताउनुभयो । उहाँका अनुसार हालसम्म १३ हजार ८७५ जना निको भएर घर फर्केका छन् ।