• श्रावण १४, २०७७
    मोरङबाट विश्वकै महँगो लागुऔषध आइस ड्रग्ससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल छन् ।

    उनको साथबाट बरामद भएको यो लागुऔषध विश्वमा अत्यधिक माग रहेको र महँगो मध्येमा पर्ने मेथान्टामाइन आइस नामक भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार यो एक प्रकारको केमिकल ड्रग्स हो । अत्यधिक महँगो लागुऔषधको कारोबारमा संलग्न उच्च घरनाका व्यवसायीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार बिक्री गर्ने तयारीमा रहेको पाँच सय ३० ग्राम ९३ मिलिग्राम (आधा किलोग्राम भन्दा बढी) लागुऔषध पोखरेलबाट बरामद गरेको जानकारी दिए ।

    विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए । कोही व्यक्तिलाई लागुऔषध पु¥याउन आउँदै गर्दा उनलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका बेला पोखरेलको साथबाट दुई सय ग्राम २२ मिलिग्राम लागुऔषध बरामद भएको थियो । प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा हानेर मङ्गलवार साँझ थप लागुऔषध बरामद गरेको हो ।

    उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । नयाँ प्रकृतिको र उच्च गुणस्तरको लागुऔषधका कारोबारी पोखरेल उच्च घरनाका व्यवसायी रहेको प्रहरी स्रोतले बतायो ।

    एसपी पोखरेलले उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको जानकारी दिए । ‘यही प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको यस अघि कुनै घटना प्रदेशमा छैन,’ उनले भने, ‘यस घटनाले दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको र अत्यधिक महँगो लागुऔषधको कारोबार यहाँ पनि हुन थालेको पुष्टि भएको छ ।’

    उच्च गुणस्तरको महँगो यो लागुऔषधको नेपालमा तस्करी एकदम नै कम मात्रामा र बेलाबेलामा हुने गरेको प्रहरी बताउँछन् ।

    यसको अन्तर्राष्ट्रिय मूल्य प्रति ग्राम ८० डलरभन्दा बढी रहेको र तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ । पक्राउ परेका पोखरेलले यही लागुऔषधको कारोबार गर्नका लागि अरू मुलुकमा पनि अन्तर्राष्ट्रिय हिसाबको सञ्जाल विस्तार गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ ।

    नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीले यस घटनालाई विस्तृतमा पछि सार्वजनिक गरिने जनाएको छ ।अपराध न्यूजबाट

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…