• २०७७ श्रावण १७ शनिबार

    काठमाडौँ — कोरोना संक्रमणको स्थिति दिनानुदिन भयावह बन्दै छ, तर साउन लागेयताका गतिविधिलाई मात्र नियाल्दा पनि हामीले राष्ट्रका अगुवाहरू प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री, मन्त्री, सांसद, सेना र प्रहरीका उच्च अधिकारी, सरकारी निकायका उच्च तहका व्यक्तिले समूहमा रहँदासमेत मास्क नै नलगाएको पायौं  ।

    र, लगाउँदा पनि सही तरिकाले नलगाउने, चिउँडोमा अड्काउने, बोल्दा खोल्ने जस्ता विश्व स्वास्थ्य संगठनले समेत ‘गर्न नहुने’ भनेकै कुरा गरेको पायौं ।



    प्रधानमन्त्री केपी शर्मा ओली साउन १ गते बालुवाटारमा यातायात व्यवसायी र मजदुरहरूको ज्ञापनपत्र बुझ्दै तस्बिर : रासस

    सरकारले शुक्रबार मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने करिब हजार सर्वसाधारणलाई सय रुपैयाँ जरिवानासहित दण्डित गरेको छ । असार २२ यता मास्क नलगाई हिँड्ने करिब १० हजार जना कारबाहीमा परिसकेका छन् । तर यही अवधिमा उच्च ओहदामा बसेकाहरू भने मास्क नलगाई निर्बाध रूपमा विभिन्न सार्वजनिक कार्यक्रममा समेत सहभागी हुँदै आएका छन् । संक्रामक रोग ऐन २०२० को दफा ३ को प्रावधान उल्लंघन गरेको आरोपमा सर्वसाधारण दण्डित भइरहँदा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सचिव र सुरक्षा निकायका अधिकारीलाई भने ऐनको यो प्रावधानले असर पारेको छैन ।



    कांग्रेस सभापति शेरबहादुर देउवा साउन १५ गते पार्टी कार्यालय सानेपामा तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

    कोरोना संक्रमणको जोखिम कायम रहे पनि अति संवेदनशील र सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेको कसुरमा सर्वसाधारणलाई प्रहरीले सय रुपैयाँ जरिवाना गराएर छाड्ने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १० हजार जनालाई जरिवाना गरिएको छ ।

    महानगरीय प्रहरी प्रधान कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार शुक्रबार एकै दिन उपत्यकाका तीन जिल्लाबाट १ सय २५ जनासहित देशभर करिब एक हजार जनालाई जरिवाना गराइएको हो । पछिल्लो एक महिनामा जरिवाना र सम्झाइबुझाइ गरेर १४ हजार ४ सय २१ जनालाई कारबाहीको दायरामा ल्याइएको उनले बताइन् ।

    गृह मन्त्रालयले मास्क लगाएर मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्ने गरी व्यवस्था मिलाउन असार पहिलो साता नै प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सम्झाइबुझाइ गर्दासमेत मास्क प्रयोगमा अटेर गरेपछि जरिवाना लिएर दण्डित गर्नुपरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

    ‘अटेर गर्ने क्रम बढ्दै गए संक्रामक रोग ऐन २०२० मा कैदसमेत गर्न सक्ने प्रावधान छ,’ उनले भने । पछिल्लो एक महिनामा प्रहरीले लकडाउन उल्लंघन गर्ने २ लाखभन्दा बढीलाई नियन्त्रणमा लिएकामा १ लाख ९० हजार जनाभन्दा बढीलाई सम्झाइबुझाइ छाडेको र बाँकीलाई जरिवाना गराएको छ ।
    (कान्तिपुर अनलाइनबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…