काठमाडौं, १८ साउन । सत्तारुढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । यतिसम्मकी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरिदिएको नेकपाको स्थायी समिति बैठक अर्का अध्यक्ष प्रचण्डले बसालेका छन् ।
४४ सदस्य रहेको स्थायी समितिमा प्रचण्डले सञ्चालन गरेको बैठकमा २९ सदस्य सहभागि भए । विधानमा भएको व्यवस्था हेर्ने हो भने प्रचण्डले बसालेको बैठक वैधानिक छ ।
मंगलबार बिहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कसैसँग सल्लाह नगरी स्थगित गरिदिए ।
त्यसपछि अर्का अर्का अध्यक्ष प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसंगको छलफलपछि बैठक बसालेका हुन । तर, बैठकमा ओली समूहका स्थायी समिति सदस्यहरुको सहभागिता थिएन ।
ओलीले प्रचण्डलाई बैठक अगाडी छलफलका लागि बोलाए पनि प्रचण्ड ओलीसँग छलफल गर्न गएनन् । स्थायी समिति बैठक सुरु हुनेबेलासम्म पनि प्रचण्ड छलफलका लागि नगएपछि ओलीले महासचिव विष्णु पौडेल र कार्यालयलाई समेत जानकारी गराई आफ्ना प्रेस सल्लाहकार सुर्य थापा मार्फत बैठक स्थगनको सूचना सम्प्रेषण गराएका थिए ।
सवा ११ बजेतिर बालुवाटार पुगेका प्रचण्डसहित नेपाल, खनाल, गौतमसहितका नेताहरुले ओलीले गरेको स्थगन मान्य नहुने भन्दै बैठक बस्नुपर्ने अडान लिए र बैठक बसे ।
बैठकमा उपाध्यक्ष गौतमले आफ्नो ६ बुँदे प्रस्तावको व्याख्या गरेका थिए । ओलीलाई अहिले हटाउन नहुने, दुवै पदमा उनी पूरा कार्यकाल बस्न दिनुपर्ने र प्रचण्डले पार्टी काममै सक्रिय हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।
बैठकमा भीम रावल, हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, रघुजी पन्त र वेदुराम भुसालले ओलीलाई कारबाही गर्नुपर्ने बताएका थिए ।
घनश्याम भुसालले ओलीले बैठक स्थगन गर्नु अवैधानिक हुने बताए । बाहिर आएर नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठक बसेर गरेको निर्णयका रुपमा पत्रकारलाई सुनाए ।
जे भए पनि यसअघि खुमलटार र भैँसेपाटीतिर हुँदै आएको यस खालको भेला मंगलबार बालुवाटारमा भयो ।
स्थायी समितिकै स्वरुपमा बसेको भेलाले एउटा स्पष्ट सन्देश दिएको छ, अब नेकपाका सबै नेताहरु एउटै चुलोमा अब भेटिन मुस्किल छ ।
अलगअलग चुलो बाल्ने प्रक्रियाको थालनी प्रचण्डको अगुवाइमा बालुवाटारबाटै भएको छ । तर यो सब पूर्व एमालेको नेपाल खेमाका नेताहरुको उक्साहटमा भइरहेको छ ।
प्रचण्डको महत्वाकांक्षा बुझेर नेपालले यो खेल खेलेको प्रष्ट बुझ्न सकिन्छ । माधव नेपालले आफूमाथि अवगाल पनि नआओस् र पूर्वएमाले तप्का आफूसँग नचिढियोस् भनेर प्रचण्डलाई अघि सारेका राजनीतिक विश्लेषकहरु बताउँछन् ।
प्रचण्डको काँधमा बन्दुक राखेर ओलीमाथि निशाना ताक्ने काम नेपालले गरिरहेका छन् । आगामी महाधिवेशनमा अध्यक्ष र अबको प्रधानमन्त्रीका लागि प्रचण्ड र नेपाल प्रतिस्पर्धी हुन् । त्यो स्पष्ट रुपमै देखिन्छ । ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्ष नउठ्ने स्पष्ट पारिसकेका छन् ।
प्रचण्ड र नेपालले यसैगरी कित्ताकाटको राजनीति गरे दोस्रो पुस्तालाई अघि सार्ने ओलीको योजना छ । तर, सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा बहुमत रहेका प्रचण्ड–नेपाल खेमाले खुट्टा टेक्यो भने ओलीलाई सत्ताको र पार्टीको पद जोगाउन गाह्रो देखिन्छ ।
दोस्रो तहका प्रभावकारी भनिएका वामदेव गौतम, भीम रावल, रामबहादुर थापा, जनार्दन शर्मा, मणि थापा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, लेखराज भट्ट, योगेश भट्टराईलगायतको समर्थन पनि विरोधी खेमालाई रहेकाले ओलीले कसरी पद सुरक्षित गर्ने भनेर रणनीति बुनिरहेका छन् । मंगलबार साँझ उपाध्यक्ष गौतमको घरमा पुगेर डिनर खाए । तर, सफलता हात नलागेको बताइन्छ । अभियान टाइम्सका साथमा ।