काठमाडौं, १८ असोज । नेपाली काँग्रेसभित्रको विवाद भुसको आगोझैँ सल्किएको छ ।
पछिल्लो पटक संस्थापन इतर पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई अल्टिमेटम र ज्ञापनपत्र पार्टी कार्यालयमा दर्ता गरेपछि विवादले उग्ररुप लिएको छ ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पौडेल पक्षले दिएपछि काँग्रेसमा आस्था राख्नेहरु चिन्तित बन्न पुगेका छन् ।
यता, काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति वमलेन्द्र निधिले पनि सभापतिमा उठ्ने बताएपछि देउवा क्याम्पमा पहिरो गएको देउवा गुटका एक सदस्यले बताएका छन् ।
उपसभापति निधि देउवाका दाहिने हात मानिन्छन् ।
काँग्रेस राजनीतिमा १२ र १३ औँ महाधिवेशनमा देउवालाई खुलेर सहयोग र समर्थन गरेका निधि १४ औँ महाधिवेशनमा पनि देउवालाई नै समर्थन गरे सभापति नबन्ने र १५ औँ महाधिवेशनमा उमेरले ७० काट्ने भएपछि अहिले सभापतिको तयारीमा भित्रभित्रै जुटेको समाचार स्रोतले बताएको छ ।
१५ औँ महाधिवेशनमा युवापुस्ताले काँग्रेसको नेतृत्व दाबी गर्ने भएपछि १४ औँ महाधिवेशन निधिका लागि अग्निपरीक्षा बन्ने निश्चित छ ।
देउवा गुटबाट निधि पछाडि नहटे संस्थापन इतर पक्षलाई सजिलै सभापति बन्न बाटो खुल्ने छ, नयाँ विमर्शमा उल्लेख छ ।
यस्तो अवस्थामा देउवाले निधिलाई आफ्नो उत्तराधिकारी बनाउन सक्ने चर्चा चलेको छ ।
आगामी फागुनमा महाधिवेशन हुनेमा शंका उत्पन्न भएको अवस्थामा निधि अगाडि बढ्लान् कि गल्लान् भनी काँग्रेस वृत्तमा बहस शुरु भएको छ ।