• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन गरेर चर्चा कमाए । उनले रारा तालको पर्यटन र प्रवद्र्धन गर्न भन्दै सम्बोधन गरेको जनाएका छन् । तर, राराबाट देशवासीका नाममा सम्बोधन गर्नुको अर्कै रहस्य रहेको खुलासा भएको छ ।

     ओलीको जीवनीमा बन्दै गरेको फिल्म ‘रातो सूर्य’का लागि आवश्यक पर्ने दृश्य लिन राराबाट देशवासीका नाममा ओलीको सम्बोधन मिलाएको रहस्य खुलेको हो । 

    त्यो पनि एमालेकै एकजना प्रभावशाली नेताले नै खुलासा गरेका हुन् । सरकारी ढुकुटी खर्च गरेर बडो तामझामका साथ ओलीको सम्बोधनको व्यवस्था गरिएको एमालेका एक नेताले बताए ।

     ‘रातो सूर्य’लाई दीपेन्द्र दाहालले निर्देशन गरिरहेका छन् । ‘रातो सूर्य’का छायाँकार सानुकुमार महर्जनले रारा तालबाट ओलीले सम्बोधन गर्दै गर्दा विभिन्न एङ्गलबाट छायाँकन गरेको देखेपछि एमालेका नेताहरू दङ्ग परेका थिए । महर्जनले छायाँकन गरेको देखेपछि एमालेका एक नेताले भने,‘कुरो त यस्तो पो रहेछ ।

      ओलीको फिल्म बनाउन पो यति ठूलो रकम खर्च गरेर राराबाट देशवासीका नाममा सम्बोधन गरिएको रहेछ ।’ ‘रातो सूर्य’को टिमलाई ओलीले आफ्ना हरेक कार्यक्रममा अलग व्यवस्था गरेर सँगै लैजाने गरेका छन् ।

     ‘रातो सूर्य’ फिल्म निर्माण टिमले आफै खर्च गरेर ओलीलाई रारा तालमा लैजाँदा खर्च बढी हुने भएपछि देशवासीका नाममा सरकारी ढुकुटीबाट खर्च हुने गरेर व्यवस्था मिलाइएको उच्च स्रोतको भनाई छ ।

      ओलीसँग रारा पुगेको ‘रातो सूर्य’ फिल्मको टिमले पूरै दृश्य खिचेको थियो । सम्बोधन गर्दै गरेका बेला ओलीको पछाडि रारा तालको डिलमा सर्वसाधारण हिँडेको दृश्य फिल्मका निर्देशक दाहालको निर्देशनमा राखिएको थियो । ओलीले चलाखीपूर्ण तरिकाले राज्यको करोडौँ रुपैयाँ सिध्याउने गरेर रारामा गरेको खेलवाडको एमालेभित्रै आलोचना भएको छ ।

     फिल्मको छायाँकनका लागि भनेर गएको भए ओलीको आलोचना हुने थियो । उनले चलाखीपूर्ण तरिकाले फिल्मको छायाँकन राराबाट सकेर फर्किएका छन् । उनको यो कार्यको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वराज शर्माले फिल्म छायाँकनका लागि रारा तालबाट सम्बोधन गरिएको हो भने गम्भीर विषय रहेको बताए ।

     ‘रारा तालको पर्यटन प्रवद्र्धन गर्नु राम्रो कुरा हो’, शर्माले भने,‘तर, प्रधानमन्त्री ओलीज्यूले आफ्नो फिल्मका लागि राज्यको करोडौँ ढुकुटी रित्याएको हो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो । जति विरोध गरे पनि कम हुन्छ ।’ ओलीको सचिवालयले फिल्म छायाँकनका बारेमा मुख खालेको छैन ।

    ‘रातो सूर्य’मा ओलीको बाल्यकालदेखि पारिवारिक र राजनैतिक जीवनीसमेत समेटिएको छ । बायोपीक फिल्ममा ओलीको वयस्क बेलाको ओलीको भूमिका अनुपम शर्माले गरेका छन् । 

    वन्डर्स मुभिज एन्ड क्रिएटिभको प्रस्तुति रहने ‘रातो सूर्य’ मा ओलीको जीवनी समेट्न पाउनु आफ्नो लागि सौभाग्य भएको शुभमुहूर्तका बेला निर्देशक दाहालले बताएका थिए ।

     ‘रातो सूर्य’ फिल्ममा टीका पहारी, हरिहर शर्मा, विश्व बस्नेत, सुरवीर पण्डित, उत्तम केसी, केशव भट्टराई लगायत कलाकारले समेत अभिनय गरेका छन् ।(यूनाइटेड पोस्ट साप्ताहिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…