• बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ ।

    फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् ।

    बुधबार सिसडोल पुगेका ८० ट्रक हिलोबाटोकै कारण फोहोर खसाल्न नसकेर जाममा परेको सिसडोलस्थित काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । फोहोरमाथि माटो छापेर बनाएको बाटो पानीले बगाएको र पानी पनि परिरहेकाले नयाँ माटो छाप्न समस्या भएको उनले सुनाए ।

    कामपाको ट्रान्सफर स्टेसन भरिसकेको र सिसडोलमा फोहोर खसाल्न सक्ने अवस्था नरहेकाले फोहोर उठ्न छाडेको महानगरका कर्मचारीहरू बताउँछन् । गत असारमा पनि वर्षाको पानीले सिसडोलमा बाटो बिग्रिदा झन्डै एक महिनासम्म फोहोर उठ्न सकेको थिएन । श्रेष्ठका अनुसार पुरानो बाटो बन्न नसकेपछि नयाँ ट्र्याक खोलेर फोहोरमाथि माटो छापेर फोहोर खन्याउने गरिएको थियो ।

    दैनिक हजार टनभन्दा बढी फोहोर
    दैनिक २५ वटा ट्रकले तीन वर्षसम्म २५० टन फोहोर फाल्न मिल्ने गरी सिसडोल ल्यान्डफिलसाइट बनाइएको थियो । तर १४ वर्षसम्म पनि विकल्प खोजिएको छैन । त्यसैले सिसडोलमा हरेक वर्षामा समस्या हुँदा काठमाडौंमा फोहोर थुप्रिन्छ ।

    अहिले दैनिक १५० ट्रकबाट हजार टनभन्दा बढी फोहोर फाल्ने गरिन्छ । काठमाडौं महानगरसहित उपत्यकाका १८ स्थानीय निकाय र बनेपा नगरपालिकाको फोहोरसमेत यहीँ फालिन्छ । सिसलोडमा फोहोरको पहाड नै बनेको छ । फोहोरमाथि नै माटो छापेर फोहोरका ट्रक अगाडि बढ्ने बाटो बनाइएको छ । बर्खामा यही बाटोमा समस्या आउँछ ।

    काठमाडौं महानगरपालिका भन्छ– प्रकृतिसँग कसको के लाग्छ ?
    काठमाडौंको फोहोर सीधै गाडीमा राखेर ल्यान्डफिलसाइटमा खसाल्न सक्ने अवस्था नरहेको र जम्मा गरेर केही दिन राख्ने स्थान पनि नभएकाले समस्या भएको महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुँवरले बताए । ‘केही दिनयताको निरन्तर वर्षाले गर्दा बाटो हिलो भएर फोहोर रोकिएको हो । पानी पर्न छाडेपछि फोहोरको समस्या हटिहाल्छ,’ उनले भने, ‘पानी निरन्तर परिरहे कसले के गर्न सक्छ ? प्रकृतिसँग कसको के लाग्छ र ?’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…